८ बैशाख २०८१, शनिबार

चुनावको मिति सरेसँगै म्यादी प्रहरी रनभूल्लमा



धनगढी । बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन एक महिना पछाडि सरेपछि चुनावका लागि भर्ना गरिएका म्यादी प्रहरी रनभूल्लमा परेका छन् ।
निर्वाचनमा सुरक्षाका लागि प्रदेश नम्बर ७ (सुदूरपश्चिमका) मा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत म्यादी प्रहरी भर्ना गरिएका थिए । यस प्रदेशका सबै नौ जिल्लामा गरी गत चैत २२ गते छ हजार नौ सय १२ जना म्यादी प्रहरी छनोट गरिएको जनाइएको छ ।
सरकारले प्रदेश नम्बर ७ सहित चार प्रदेशमा स्थानीय तहको चुनाव एक महिनापछि (जेठ ३१ गते) गर्ने निर्णय गरेपछि म्यादी प्रहरीहरू अन्यौलमा परेका छन् । उनीहरूलाई गत चैत्र २८ गतेदेखि नेपाल प्रहरीले आवश्यक तालिम सञ्चालन गरेको थियो ।
छनोटमा परेका म्यादी प्रहरीलाई यही बैशाख १५ गते अस्थायी नियुक्ति दिने गरी भर्ना गरिए पनि सरकारले प्रदेश नम्बर ७ सहित देशका चारवटा प्रदेशमा चुनाव एक महिनापछि सारेसंगै हाललाई अस्थायी नियुक्तिपत्र प्रदान गर्ने कार्य पनि स्थगित भएको जनाइएको छ ।
गृह मन्त्रालयले स्थानीय तहमा शान्ति सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई जनही खाना तथा पोशाक भत्तासहित ५५ हजार रुपैयाँ सेवा खर्च दिने निर्णय गरेको छ । उनीहरूलाई बैशाख ३१ गतेको निर्वाचनका लागि भर्ना गरिएको थियो । तर, अहिले चुनाव एक महिना पर सरेपछि उनीहरूलाई प्रदान गरिने सेवा खर्चमा बृद्धि हुने वा नहुने भन्नेबारे कुनै टुंगो नलागेको प्रहरी प्ररीहरूको भनाई रहेको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले चुनाव एक महिनापछि सारिए पनि म्यादी प्रहरीबारे सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको बताए । ‘गृह मन्त्रालयबाट ठोस निर्णय, निर्देशन नआएका कारण छनौटमा परेका म्यादी प्रहरीलाई के गर्ने भन्ने बारे अन्यौल छ’ उनले भने– ‘अहिले म्यादी प्रहरीहरूलाई आधारभूत तालिम दिने बाहेक अरु समयमा उनीहरू खाली बस्ने गरेका छन् ।’
सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी रोमेन्द्रसिंह देउजाले स्थानीय तह निर्वाचनका लागि अस्थायी भर्ना गरिएका म्यादी प्रहरीलाई तत्काल के गर्ने भन्नेबारे गृह मन्त्रालयबाट कुनै निर्णय नआएको बताए । डिआइजी देउजाले आफू पनि मन्त्रालयकै निर्णयको प्रतीक्षामा रहेको बताए ।
डिआइजी देउजाले म्यादी प्रहरीको म्याद पुन: एक महिना थपिने सम्भावना रहेको बताए । उनले मन्त्रालयबाट कुनै निर्णय नआएकाले म्यादी प्रहरीलाई आधारभूत तालिम मात्रै सञ्चालन गरिएको बताए ।
सुदूरपश्चिम प्रहरी कार्यालयका अनुसार कैलालीमा एक हजार पाँच सय ३७, कञ्चनपुरमा एक हजार ५५, बैतडीमा सात सय १७, डडेल्धुरामा चार सय १३, डोटीमा छ सय आठ, अछाममा नौ सय ४०, बझाङमा पाँच सय ७७, बाजुरामा पाँच सय ३५ र दार्चुलामा पाँच सय ३० म्यादी प्रहरी छनोट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार