१२ बैशाख २०८१, बुधबार

शिक्षाका लागि खाद्य कार्यक्रम प्रभावकारी बन्दै



बझाङ । बझाङमा शिक्षाका लागि खाद्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रम लागू भएपछि खासगरी जिल्लाका विकट ग्रामीण क्षेत्रका विद्यालयहरूमा यो कार्यक्रम उपलब्धीमूलक बनेको पाइएको छ ।
शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएपछि विद्यालयमा विद्यार्थीको संख्यामा बृद्धि आएको छ । गोर्खाली निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरख खड्का भन्छन्– ‘यो कार्यक्रमअन्तर्गत दिवा खाजा लागू भएपछि टिफिन समयमा भाग्ने समस्यामा पनि कमी आएको छ ।’
बझाङमा दुई सय ३७ प्राथमिक विद्यालय, ५८ निम्न माध्यमिक विद्यालय र सात वटा बालकक्षा गरी तीन सय दुई विद्यालय सञ्चालनमा रहेका छन् । शिक्षाका लागि खाद्य कार्यक्रमका इकाई प्रमुख पंकज सुवेदीका अनुसार यो कार्यक्रमबाट जिल्लाका ४० हजार बालबालिका लाभान्वित भएका छन् ।
विश्व खाद्य कार्यक्रम र शिक्षा मन्त्रालयको वस्तुगत तथा आर्थिक सहयोगमा यो कार्यक्रम बझाङमा २०५७ सालदेखि सञ्चालनमा छ । आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई लक्षित गरेर लागू गरिएको यो कार्यक्रमबाट बालबालिकाको शैक्षिक स्तरमा समेत सुधार आएको अभिभावकहरूको समेत अनुभव छ । सुनकुडाकी सपनादेवी बिष्ट भन्छिन्– ‘दिवा खाजा कार्यक्रम लागू भएपछि मेरा दुई छोरा र तीन छोरी सबै स्कूल जान हतारिने गरेका छन् ।’ उनका छोराछोरी नजिकैको महादेव प्राविमा पढ्छन् ।
खाद्य कार्यक्रमसंगै विद्यालयमा ई–पाटी (कम्प्युटर) शिक्षा समेत लागू भएपछि विद्यार्थीहरूको कक्षा उपस्थितिमा पनि निकै सुधार आएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारले छोराछोरीका लागि सधैं टिफिन व्यवस्था गर्न नसक्ने भएकाले विगतमा प्राय: बालबालिका टिफिनको छुट्टीमा घर फर्किने गर्दथे । अभिभावकहरू भन्छन्– ‘अहिले टिफिनको समस्या छैन । यो कार्यक्रमसंगै विद्यालय सरसफाई कार्यक्रम पनि लागू भएकाले हामी प्राय: त्यसमा सहभागी हुने गरेका छौं ।’
शिक्षाका लागि खाद्य कार्यक्रमसंगै बझाङका विद्यालयहरूमा खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम पनि लागू भएको छ । सरसफाईको क्षेत्रमा कार्यरत वास कार्यक्रमका संयोजक रमानन्द जोशीको अनुभव छ– ‘यो कार्यक्रमले ग्रामीण वस्तीमा समेत सरसफाईप्रति सचेतना बृद्धि गरेको छ ।’
विद्यालयहरूमा बालमैत्री धारा जडान भएका छन् । खाद्य कार्यक्रमका कारण बालबालिकाले स्कूलमा दिवा खाजा पाउने र सरसफाईका लागि धाराको सुविधा पाएका छन् । खाद्य कार्यक्रम अन्तर्गत एक जना विद्यार्थी बराबर प्रत्येक दिन पिठो ९० ग्राम, तेल १० ग्राम र चिनी १० ग्रामसहितको पौष्टिक आहार दिने गरिएको महादेव प्राविका प्रधानाध्यापक हरिजीत बोहराले बताए ।
उनले विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएपछि विद्यार्थीको संख्यामा पनि बृद्धि आएको बताए । हाल सो विद्यालयमा दुई सय ३५ जना विद्यार्थी नियमित कक्षामा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार