७ बैशाख २०८१, शुक्रबार

शैक्षिक शुल्क निर्धारण



धनगढी । विद्यालय शुल्क निर्धारण समिति, कैलालीले बुधबार जिल्लामा संस्थागत विद्यालयमा लागू हुने गरी शैक्षिक शुल्क निर्धारण गरेको छ । यससंगै आज (बिहीबार) देखि संस्थागत विद्यालय सञ्चालनमा आउने भएका छन् ।
बैठक जिल्ला शिक्षा अधिकारी तथा शुल्क निर्धारण समितिका सयोजक मानसिंह बिष्टको अध्यक्षतामा बसेको थियो ।
बैठकपछि शिक्षा अधिकारी बिष्टले जिल्लाका गाउँपालिका र नगरपालिकामा प्राथमिक तहमा बढिमा एक हजार दुई सय रुपैयाँ शुल्क तोकिएको बताए ।
त्यस्तै, निम्न माध्यमिक तहमा बढिमा एक हजार छ सय र माध्यमिक तहमा बढिमा एक हजार नौ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै, उपमहानगरपालिकामा सञ्चालनमा रहेका विद्यालयका लागि प्राथमिक तहमा बढिमा एक हजार चार सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै, निम्न माध्यमिक तहमा बढिमा एक हजार नौ सय ५० सय र माध्यमिक तहमा बढिमा दुई हजार चार सय रुपैयाँ शैक्षिक शुल्क निर्धारण गरिएको छ ।
यसअघि बुधबार जिल्ला शिक्षा कार्यालयमा बसेको बैठकले शैक्षिक सत्र २०७३ कै आधारमा विद्यालय शुल्क लिने र एक महिनाभित्र विद्यालय वर्गीकरण गरिसक्ने सहमती भएपछि आन्दोलनमा रहेका संस्थागत विद्यालयले बन्दका कार्यक्रम फिर्ता लिएका हुन् ।
संस्थागत विद्यालयले शैक्षिक सत्र २०७३ मा न्यूनतम एक हजार दुई सय र अधिकतम दुई हजार पाँच सय शुल्क लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार