१६ चैत्र २०८०, शुक्रबार

पूल निर्माण कार्य सुस्त गतिमा



धनगढी । धनगढी उपमहानगरपालिकाभित्र निर्माणाधिन चारवटा पूल निर्धारित समयावधिभित्र पुरा हुने सम्भावना देखिएको छैन ।
उपमहानगरपालिकाभित्र नेपाल राष्ट्र बैंक अगाडिको तारानगर जोड्ने पूल, सन्तोषीटोल–पशुपति टोल जोड्ने पुल, क्याम्पसरोड–जाँई जोड्ने पूल र धनगढीको चटकपुर र कञ्चनपुर रैकवारविचवा जोड्ने पूलको निर्माण कार्य सुस्त गतिमा रहेकोले समयमै पुरा हुने सम्भावना क्षीण देखिएको छ ।
सडक डिभिजन कार्यालयमार्फत निर्माणाधिन यी चार पुलमध्ये नेपाल राष्ट्र बैंक अगाडिको तारानगर जोड्ने पूलको निर्माण सम्झौता मिति समाप्त भइसकेको छ ।
दुई वर्षअघि २०७२ साल मंसिर २७ गतेदेखि निर्माण कार्य शुरु गरिएको सो पूल डेढ वर्षभित्र पुरा गर्ने गरी सम्झौता भएको जनाइएको छ । पूल निर्माणको सम्झौता गत फागुन २० गते सकिए पनि पूलको ढलान कार्य बाँकी रहेको सडक डिभिजन शाखा कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार सो पूल निर्माणको लागत एक करोड ६९ लाख रुपैयाँ रहेको छ । कार्यालयका इञ्जिनियर महेन्द्र पन्तले पुलको पिलर निर्माण कार्य भइसके पनि ढलान कार्य बाँकी रहेको बताए ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–२, सन्तोषीटोलको चर्च नजिक निर्माणाधिन अवस्थामा रहेको पूलको सम्झौता मिति सकिन चार महिना मात्र बाँकी रहेको छ, तर अहिलेसम्म पिलर निर्माण कार्य समेत सुरु भएको छैन । इञ्जिनियर पन्तले दुई वषभित्र पूलको निर्माण कार्य पुरा गर्ने गरी २०७२ साल भदौ २० गते सम्झौता गरिएको बताए । अहिले सो पूलको जग बनाउने (फाउन्डेसन) को काम भइरहेको छ । सो पूल निर्माणका लागि तीन करोड ९७ लाख रुपैयाँ लागत रहेको छ ।
तीन वर्षमै निर्माण कार्य पुरा भइसक्नुपर्ने कञ्चनपुर जोड्ने चटकपुर–रैकवारविचवा पुलको जग बनाउने काम पनि अझैं शुरु भएको छैन । आर्थिक वर्ष २०७०/०७१ सालमा सम्झौता गरिएको सो पूल निर्माणको समयावधि सकिनै लाग्दा समेत जग निर्माण कार्य अघि बढेको छैन । सो पूल सात करोड रुपैयाँ लागतमा निर्माण हुने जनाइएको छ ।
ईञ्जिनियर पन्तले २०७२ सालको नाकाबन्दी, कफ्र्यू लगायतका कारण डिजेल, निर्माण सामग्री अभावका कारण पनि समयमै यी पूल निर्माण हुन कठिनाई भएको बताए । उनले यी आयोजनाहरूको सम्झौता मिति सकिएपछि छ महिनाको समयावधि थप गरिने र सो समयभित्र पनि काम पुरा नभए कारबाही प्रक्रिया अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार