१५ चैत्र २०८०, बिहीबार

विद्यार्थीहरूको नि:शुल्क मुटु परीक्षण



धनगढी । कैलालीका दशवटा विद्यालयका विद्यार्थीहरूको नि:शुल्क मुटु परीक्षण गरिने भएको छ । धनगढीका सात र अत्तरियाका तीनवटा विद्यालयका झण्डै पाँच हजार विद्यार्थीको आज (बुधबार) देखि नि:शुल्क मुटु परीक्षण गरिने जनाइएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको आयोजनामा मुटुको बारेमा जानकारी दिन र कुनै समस्या परेमा उपचारमा सहजताका लागि विद्यार्थीहरूको नि:शुल्क मुटु शिविर सञ्चालन गरिएको मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान कैलालीका अध्यक्ष डिल्लीराज पन्तले धनगढीको पञ्चोदय उमावि, धनगढी उमावि, त्रिनगर उमावि र शारदा उमावि तथा त्रिभुवन र राष्ट्रिय मावि र राष्ट्रिय निमावि, गेटाको सरस्वती मावि, अत्तरियाको दुर्गालक्ष्मी र गुहेश्वरी माविमा शिविर सञ्चालन गरिने बताए ।
अध्यक्ष पन्तले शिविरबाट पाँच हजार आठ सय विद्यार्थी लाभान्वित हुने अपेक्षा व्यक्त गरे ।
आज (बुधबार) देखि सञ्चालन हुने शिविरमा प्रतिष्ठानका निवर्तमान केन्द्रीय अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी नेतृत्वको तीन जना मुटुरोग विशेषज्ञले सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपालमा बर्सेनि एक हजार बालबालिका बाथ मुटुरोगको समस्याबाट मृत्यु हुनेको गरेकाले सो मृत्युदरमा कमी ल्याउन शिविर आयोजना जारी रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका निवर्तमान केन्द्रीय अध्यक्ष डाक्टर रेग्मीले बालबालिकाको टन्सील बढ्दा औषधी नगरे मुटुरोगको सम्भावना बढ्ने बताए ।
उनले घाँटी दुख्ने, टन्सिल बढ्ने, निल्न गाह्रो हुने, घाँटीको बाहिर गिर्खा आउने, ज्वरो आउने लगायतका लक्षण १५ वर्ष मुनिका बालबालिकामा देखिएमा तत्काल उपचार गराउनुपर्ने सल्लाह दिए ।
विश्वभरी करिब एक करोड ८० लाख भन्दा बढी मानिसहरू बर्सेनि मुटुरोगका कारण मर्ने तथ्यांकले देखाएको बताउँदै उनले विश्व संगठनले विगतमा बाथ मुटुरोग सम्बन्धी ध्यान नदिए पनि अहिले पहलका लागि अघि बढीरहेको उनले बताए । बाथ मुटुरोगले मुटुरोगीको मृत्युदरमा बृद्धि ल्याएको भन्दै विश्व स्वास्थ्य संगठनले न्यूनिकरणका लागि कार्यक्रम अघि बढाउने तयारी गरिरहेको बताए ।
डा. रेग्मीले बाथ मुटुरोगको समयमै उपचार हुने हो र रोग लागि हाले पनि औषधी सेवन गरेमा पनि नियन्त्रण गर्न सकिने बताए । उनले जनचेतना अभाव, अशिक्षाकै कारण यो रोगबारे धेरै मानिस अनविज्ञ रहेको बताए । डा. रेग्मीले बाथ मुटुरोगलाई अज्ञानताको रोगको संज्ञा पनि दिए ।
‘टन्सील बढ्ने वित्तिकै हामी तातो पानी र नूनले कुुल्ला गर्ने गर्छौ’ डा. रेग्मीले भने ‘यो उपचार विधी होईन्, केही क्षण त सञ्चो हुन्छ तर, यसले हाम्रो मुटुलाई असर पुर्‍याउँछ ।’ उनले उपचारनै यसको उपयुक्त विधी रहेको भन्ने ज्ञान बढाउन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार