८ बैशाख २०८१, शनिबार

आसन्न स्थानीय निर्वाचन : उपमेयर पदका आकांक्षीहरूसँग जम्काभेट



स्थानीय तह निर्वाचनको मिति आउन २१ दिन बाँकी छ । दुई दशकपछि हुन थालेको स्थानीय तह निर्वाचनका लागि विभिन्न स्थानीय तह (सरकार) का प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यका लागि प्राय: दल यति बेला उम्मेदवारी छनोटमा व्यस्त रहेका छन् । टिकटका आकांक्षीहरू आ–आफ्नो दावेदारीको औचित्य पुष्टि गर्न आ–आफ्ना पार्टीका विभिन्न तह, नेतृत्वसमक्ष दौडधुप गरिरहेका छन् । यससंगै दलहरूले चुनावी प्रचारप्रसारलाई पनि तीव्र बनाइरहेका छन् । नेता, कार्यकर्ता र उम्मेदवारीका आकांक्षीहरू वभिन्न वडा, टोल, बस्तीमा सभा, घरदैलो लगायतका कार्यक्रममा व्यस्त रहेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिकामा कुन दल, खासगरी ठुला दलबाट कसले कुन पदमा उम्मेदवारी पाउलान् भन्ने सबैको चासो र कौतूहलको विषय बनेको छ । चिया पसलदेखि चोक, गल्ली जहाँतहीँ ‘कुन दलबाट उपहानगरपालिकामा को मेयर, उपमेयर, वडाध्यक्षका उम्मेदवार बन्लान्, कसको स्थिति कस्तो छ ?’ जस्ता चर्चा चुुलिएको अवस्था छ ।
अनुमोदन दैनिकले विभिन्न दलबाट उपमहानगरपालिकाको मेयर र उपमेयरका आकांक्षीहरूका धारणा प्रस्तुत गर्दै आएको छ । यस क्रममा आज नेपाली काँग्रेस र नेकपा (एमाले)बाट उपमेयरका केही आकांक्षीहरूलाई प्रस्तुत गरिएको छ ।अनुमोदन दैनिकका लागि संवाददाता शेरबहादुर ऐरसुनिल आउजीले आकांक्षीहरूलाई सोधेका थिए– ‘उम्मेदवारीका लागि तपाईँको दौडधुप कस्तो भइरहेको छ ?, तपाईँ आफूले टिकट पाउँछु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ र किन ?’

पार्टीले मेरो उचित मूल्याङ्कन गर्छ भन्ने विश्वास छ

गौरी लामा
सदस्य, नेपाल महिला सङ्घ, कैलाली

यति बेला म दैनिक पार्टीको प्रचारप्रसारमा जुटेकी छु । म उपमहानगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट उपमेयरको आकांक्षी हुँ । मैले विद्यार्थी जीवनदेखि अहिलेसम्म पार्टीमा पुर्‍याएको योगदानको मूल्याङ्कन गरेर मलाई टिकट दिन्छ भन्ने विश्वास छ । तर, कतै म आर्थिक रूपमा कमजोर भएको हुनाले मात्रै नपाउने हो कि भन्ने पनि भय छ । फेरि आफैँ सोच्छु– ‘गरिब भएकै कारणले मात्रै मलाई पार्टीले उपमेयरको उम्मेदवारीबाट वञ्चित गर्ने छैन भन्ने विश्वास त छ । पार्टीले सधैँ योग्य, ईमान्दार र पार्टीमा योगदान पुर्‍याएको व्यक्तिलाई नै टिकट दिन्छ । त्यसैले, पार्टीले जसलाई टिकट दिन्छ म स्वीकार्न तयार छु ।’

 

 

 

 

टिकट पाउने आशा छ

जानकी जोशी
पूर्व जिल्ला सदस्य, नेपाल महिला सङ्घ

वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेसले प्रचारप्रसार अभियानलाई तीव्र बनाएको छ । म पनि अहिले पार्टीको प्रचारप्रसार अभियानमा सहभागी भइरहेकी छु । मैले धनगढी उपमहानगरपालिको उपमेयर पदमा उम्मेदवार बन्ने आकाङ्क्षा देखाएकोले पार्टीमा उम्मेदवारीका लागि आवेदन दिएकी छु । टिकटका लागि नेताहरूसंग आग्रह गरेकी छु । टिकट कसले पाउँछ थाहा छैन, तर मैले टिकट पाउँछु भन्ने आशा गरेकी छु ।

 

 

 

 

 

 

टिकट पाउनेमा ढुक्क छु

रक्षा महरा
क्रियाशील सदस्य

अहिले दैनिक म धनगढी उपमहानगरपालिकाका विभिन्न वडा, टोलवस्तीमा धाइरहेकी छु । हाम्रो पार्टी नेपाली काँग्रेसले अहिले चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएको छ । कोणसभा, घरदैलो अभियान अघि बढिरहेको छ । म पनि नेता, कार्यकर्ताहरूसँगै चुनावी प्रचारप्रसारमा गइरहेकी छु । हरेक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्रचारप्रसारमा खटिइरहेकी छु ।
मैले पनि धनगढी उपमहानगरपालिकाको उपमेयरको लागि आकाङ्क्षा राखेकी छु । र, मैले टिकट पाउँछु भन्ने आशा पनि गरेकी छु । पार्टीले मलाई विश्वास गरेर र मैले पार्टीमा पुर्‍याएको योगदानको मूल्याङ्कन गरेर टिकट दिन्छ भन्नेमा ढुक्क छु ।

 

 

 

मलाई सबै समुदायका महिलाले विश्वास गर्छन्

कोईली चौधरी
जिल्ला सदस्य, नेकपा (एमाले) कैलाली

म एमालेका तर्फबाट धनगढी उपमहानगरपालिको उपमेयर पदको आकांक्षी हुँ । टिकटका लागि दैनिक दौडधुप चलिरहेको छ । हाम्रो पार्टीको उपमहानगरपालिका विभिन्न स्थानमा चुनावी अभियान चलेको छ । म पार्टीमा क्रियाशील भएर लागिरहेकी छु र समावेशीका आधारमा म चौधरी समुदायबाट पार्टीमा सक्रिय छु । त्यसैले, पार्टीले मेरो उचित मूल्याङ्कन गरेर उपमेयरको टिकेट दिनेछ भन्नेमा म शतप्रतिशत ढुक्क छु । मलाई यो उपमहानगरपालिकामा बसोबास गर्ने पहाडी तथा थारू समुदायका महिलाले निकै विश्वास गर्छन् । मैले सबै जनताको सेवा गर्छु भन्ने पनि सबैको विश्वास रहेको छ ।

 

 

 

 

पार्टीका साथी तथा जनताको विश्वास छ

सुशीला बुढाथोकी
उपाध्यक्ष, क्षेत्रीय कमिटी

म हाम्रो पार्टी नेकपा एमालेको चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा व्यस्त छु । उपमहानगरपालिकाका विभिन्न वडामा धाइरहेकी । त्यस्तै, टिकटका लागि पनि दौडधुप चलिरहेको छ । २० वर्षपछि भइरहेको स्थानीय तहको चुनावमा मलाई मेरो योगदानको मूल्याङ्कन गरेर पार्टीले उपमेयरको टिकट दिन्छ भन्ने विश्वास छ । म १६ वर्षको उमेरदेखि नै २०४६ सालबाट पार्टीमा सक्रिय छु । गाउँकमिटी हुँदै विभिन्न कमिटीमा आजसम्म निरन्तर क्रियाशील छ । त्यसैले पनि म उपमेयरको टिकट पाउनेमा ढुक्क छु । पार्टीका साथी तथा जनताले पनि ‘तपाईँले नै उपमेयरको टिकट पाउनुपर्छ’ भनिराख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार