८ बैशाख २०८१, शनिबार

निर्मला पन्त हत्याकाण्ड: स्थानीयद्वारा हत्यारा पत्ता लगाउन प्रधानमन्त्रीसंग माग



कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना पूरा भएपनि घटनामा संलग्न दोषको पहिचान हुन सकेका छैन ।


९ महिनामा पनि निर्मलाका हत्यारा पत्ता नलागेपछि स्थानीयले प्रधानमन्त्री केपी शर्माओलीलाई ज्ञापन पत्र बुझाएर हत्यारा पत्ता लगाउन माग गरेका छन् । निर्मलाको न्यायका लागि आन्दोलन गर्दै आएको नागरिक संघर्ष समितिले मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा हत्याकाण्डको ९ महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको र हत्यारा पहिचान गर्न पटक–पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दा समेत बेवास्ता गरिएको उल्लेख गरिएको छ ।
उच्चस्तरीय छानबिन समितिले दोषी देखाइएका व्यक्तिहरुमाथि थप छानबिन गर्न समेत ज्ञापन पत्रमा मा गरिएको छ । स्थानीयको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वैद्यले ज्ञापनपत्र प्रधानमन्त्रीलाई पठाउने प्रतिबद्धता व्यक्त गरे । उनले निर्मलाको न्यायका लागि आम नागरिकले उठाएको आवाज जायज भएको बताउँदै घटनाका विषयमा अनुसन्धान जारी रहेको जनाए ।
गएको साउन १० गते साथीको घरमा गृहकार्य गरेर फर्किने क्रममा हराएकी निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा नजिकैको उखुबारीमा शव फेला परेको थियो । अनुसन्धानका लागि विभिन्न आयोग गठन भए थिए । घटनाको अनुसन्धानमा लापरबाही गरेको अधियोगमा प्रहरी अधिकृतहरु समेत कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार