१३ बैशाख २०८१, बिहीबार

विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धि विधेयक २०७५ पेश



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको मंगलबार बसेको बैठकमा प्रदेश विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धि विधेयक २०७५ पेश भएको छ ।


प्रदेश सरकारका तर्फबाट बैशाख ६ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको विधेयक माथि विरोध सूचना नपरेपछि आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले विधेयक सभामा प्रस्तुत गरेका हुन् । सभामा प्रस्तुत गरिएको विधेयकमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद व्यवस्थापन परिषद् गठन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रदेश बिपद ब्यवस्थापन परिषद्मा प्रदेशका सबै मन्त्रालयका मन्त्री र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने प्रावधान राखिएको छ । जम्मा ६ परिच्छेद र ४५ दफा रहेको विधेयकमा बिपद ब्यवस्थापन परिषदको निर्देशन र निर्णय कार्यान्वयन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रीको अध्यक्षतामा प्रदेशका सबै मन्त्रालयका सचिव, प्रदेश प्रहरी प्रमुख र प्रदेशस्तरीय रेडक्रस सोसाइटीको अध्यक्ष सदस्य रहने गरी कार्यकारी समिति बनाउने ब्यवस्था समेत प्रस्ताव गरिएको छ ।
यस्तै बिपद ब्यवस्थापन कोष खडा गर्ने बिषयमा पनि विधेयकमा उल्लेख छ । विधेयकको परिच्छेद ४ को दफा १० मा बिपद ब्यवस्थापन कोष खडा गर्ने बिषय उल्लेख छ । बिपदको समयमा अन्तर प्रदेश सहयोग गर्न सक्ने गरी अन्तर प्रदेश सहयोग कार्यक्रम समेत विधेयकमा ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार