७ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्रीद्वारा हुलाकी सडक निरीक्षण



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार हुलाकी राजमार्ग अन्तर्गतको कैलाली खण्डको निरिक्षण गरेका छन ।
टीकापुरको नारायणपुर चौराहादेखि भजनी, हसुलिया खण्डको निरिक्षण गरेका मुख्यमन्त्री भट्टले हसुलिया, भजनी खण्डको निर्माण कार्य छिटो छरितो हुन नसक्नुको कारणबारे जानकारी समेत लिएका थिए ।
उनले भजनीमा स्थानीय तहका जनप्रतिनीधि, सर्वसाधारण र निर्माण कार्यमा संलग्न ठेकेदार पक्षसंग छलफल गरे । छलफलपछि मुख्यमन्त्रीले भने– के कति कारणले निर्माण कार्य ढिलाइ भएको हो थाहा पाउन आवश्यक छ, त्यसैले आज (आईतबार) मुख्यमन्त्री कार्यालयमा थप छलफल हुनेछ ।
मुख्यमन्त्री भट्टले हुलाकी सडकका निर्माण कार्यमा संलग्न निर्माण कम्पनीका गणेश चन्द र कान्द्रा नदीको पुल निर्माण कार्यका ठेकेदार नगेन्द्र रावतलाई छलफलका लागि धनगढी बोलाएको बताइएको छ ।
कान्द्रा नदीमा आठ वर्ष अघि नै शुरु भएको पुल अझै पुरा हुन सकेको छैन । विगतमा किन काम भएन हामीले बुझन सकेका छैनौ, तर हामी अबदेखि नै काम अघि बढाउदै छौ, पुल निर्माण कम्पनीका ठेकेदारका प्रतिनीधि रावतले मुख्यमन्त्रीलाई जानकारी दिदै भने– एक वर्ष भित्र गाडी गुड्ने अवस्था आउछ ।
हुलाकी सडकमा निर्माणमा संलग्न चन्दले भने बसन्ता जैविक मार्गको दुई किलोमिटरमा रुख कटानी हुन नसक्नु र कान्द्रा नदीले धार परिवर्तन गर्दा सडक निर्माणमा ढिलाइ भएको जानकारी दिएका थिए ।
छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावल, पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी, भजनी नगरपालिकाका उपमेयर छाया देवकोटा, पूर्व सांसद हरी श्रीपाइलीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार