१६ चैत्र २०८०, शुक्रबार

सांस्कृतिक सम्मिलन शुरुः जातीय संग्रहालय निर्माणमा सरकार प्रतिवद्ध– मुख्यमन्त्री भट्ट



टीकापुर । नेपाल जातीय संग्रहालयको आयोजनामा शनिबार जानकी गाउपालिकाको वडा नम्बर ९ अमरावतिमा सांस्कृतिक सम्मिलन कार्यक्रम शुरु भएको छ ।
सांस्कृतिक सम्मिलनको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार जातीय संग्रहालय निर्माणका लागि प्रतिवद्ध रहेको बताए ।
उनले संस्कृति तथा संस्कारले नै मानिसलाई अनुशासित बनाउने भएकाले सबै जातजातिको कला, संस्कृति संरक्षणमा जातीय संग्रहालय निर्माण महत्वपूर्ण कार्य भएको चर्चा गरे ।
मुख्यमन्त्री भट्टले विभिन्न जाती समुदायको संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि साझा दृष्टिकोण आवश्यक रहेको बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पर्यटन उद्योग तथा वन वातावरण राज्मन्त्री प्रकाशबहादुर रावलले जातीय संग्रहालय प्रदेश सरकारको गौरवको योजना बनाइने बताए । उनले जातीय संग्रहालय कैलालीको एक प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सांसद दीर्घबहादुर सोडारी,  पूर्व सभासद् सुक्दैया चौधरी, प्रदेश सांसदहरु रतनबहादुर थापा, राजेन्द्र साउद र लालबहादुर खड्का, पूर्व सभासद हरि ज्ञवाली,  जानकी गाउपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी, गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कठायत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२०७१ सालको चैतमा दुईै बिघा क्षेत्रफलमा स्थापना गरिएको संग्रहालयमा थारु घर निर्माण भैसकेको छ । त्यस्तै पहाडी घर र प्रदर्शनी हल पनि तयार भइसकेको जनाइएको छ ।
कार्यक्रममा थारु, मगर, राना थारु, र अछामका सांस्कृतिक झाँकी प्रस्तुत गरिएका छन् । कार्यक्रम संग्रहालयका अध्यक्ष गरिमा शाहको अध्यक्षतामा भएको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष खकेन्द्र भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल जातीय संग्रहालयका सचिव तीर्थराज उपाध्यायले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार