१५ चैत्र २०८०, बिहीबार

सम्पादकीय: मसिनो धानखेती विस्तार कार्यक्रममै सिमित नरहोस्



चामलको आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मसिना तथा बासनादार धान खेती विस्तार कार्यक्रम अघि सारेको छ । प्रदेश मन्त्रालयले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार कैलाली र कञ्चनपुरमा मसिनो तथा बासनादार धान उत्पादन बृद्धि गर्दै आयात प्रतिस्थापना गर्ने लक्ष्य लिएको छ । यसका लागि इच्छुक कृषक, कृषक समुह, सहकारी संस्था, जल समिति, फर्म, कम्पनी र उद्यमीहरूलाई निवेदन पेस गर्न आह्वान गरिसकेको छ । सुदूरपश्चिम प्रदेश केही दशक अघिसम्म चामल निर्यात गर्ने प्रदेशका रुपमा रहेकोमा अहिले वार्षिक ठूलो परिमाणमा चामल आयात भइरहेको अवस्था छ । अझ, चामल मात्रै होइन, दलहन, तेलहनसहितका खाद्यान्न पनि प्रायः ठूलो परिमाणमा आयात हुने गरेका छन् । अझ, फलफूल, माछा, खसीबोकाको आयात निकै बढी छ । प्रदेश सरकारले प्रदेशलाई कम्तिमा अहिले चामल आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित मसिनो तथा बासनादार धानखेती विस्तारका लागि विशेष प्राथमिकताका साथ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रम कत्तिको सफल हुन्छ भन्ने आ“कलन केही समयपछि नै हुने छ ।
कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण नीति र कार्यक्रम नौलो होइन । संघीय वा केन्द्रीय सरकारले विगतदेखि नै कृषि उत्पादन बृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । हरेक सरकारले कृषिको आधुनिकिकरण र व्यवसायिकरणलाई प्रमुख नाराका रुपमा प्रस्तुत गर्दै आएका छन् । तर, अहिलेसम्म उपलब्धी सन्तोषजनक रहेको अवस्था छैन । कृषियोग्य जमिनको तीब्र गतिमा भइरहेको खण्डिकरण, विना दिर्घकालीन योजना मानव वस्ती विस्तार तथा शहरीकरण, खेतीका लागि आवश्यक युवाहरुको ठूलो संख्या विदेशिनु, कृषिका लागि आवश्यक मलखाद, वीऊविजन, उपकरण, प्रविधि, शितगृह, सिंचाई सेवा, बजारीकरणको कमी आदिका कारण कृषि उत्पादनमा हरेक वर्ष ह्रास आइरहेको तितो तथ्यबीच प्रदेश सरकारले अघि सारेको चामलको आयात प्रतिस्थापन कार्यक्रम लक्ष्यअनुरुप सफल हुनेमा अहिल्यै ढुक्क हुनसक्ने अवस्था छैन ।
नया“ कार्यक्रम उपलब्धीमुलक बनाउन कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणका साथै कृषि उत्पादनमा बृद्धिका लागि विगतमा भएगरेका कार्यक्रम तथा प्रयास किन लक्ष्यअनुरुप उपलब्धीमुलक हुन सकेनन् भन्नेमा ठोस ढंगले समिक्षा गरिनु आवश्यक हुन्छ । कैलाली, कञ्चनपुरमा केही वर्षदेखि सञ्चालनमा रहेको चैते धानखेती विस्तार कार्यक्रममा किसानहरु आकर्षित हुननसकेको तथ्यपूर्ण विश्लेषणले पनि चामल आयात प्रतिस्थापन कार्यक्रमका चुनौति पहिचान गर्न सहज हुने छ । सरकारहरुले क्षणिक लोकप्रियता आर्जन गर्न एक से एक आकर्षक कार्यक्रम घोषणा गर्ने वा सञ्चालन गर्ने गरेको सन्दर्भमा मसिनो तथा बासनादार धानखेती विस्तार तथा चामल प्रतिस्थापन कार्यक्रम पनि त्यस्तै एउटा कार्यक्रममै सिमित नहोस् भन्नेतर्फ प्रदेश सरकार सजग र गम्भीर हुनु आवश्यक छ । कृषि उत्पादन बृद्धिका साथै युवा र दक्ष जनशक्तिलाई कृषि पेसा, व्यवसायमा आकर्षित गर्न उनीहरूलाई कृषि भरपर्दो पेसा, व्यवसाय हो भन्ने विश्वास हुनु पर्दछ । त्यसैले नारा वा कार्यक्रमका लागि कार्यक्रम मात्रै होइन, साच्चै नै चामलमा प्रदेशलाई आत्मनिर्भर बनाउने ढंगले यो कार्यक्रमलाई अगाडी बढाउनेतर्फ सरकार गम्भीर हुनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार