६ बैशाख २०८१, बिहीबार

पुनः श्रम स्वीकृति सेवाः सेवाग्राहीको गुनासो– सेवा पाउन किन सास्ती ?



धनगढी । बैतडीका मानबहादुर भाट शुक्रबार आक्रोसित मुद्रामा कैलाली, धनगढीस्थित श्रम तथा रोजगार कार्यालयमा बसेका थिए । ‘के भयो ? अझै कति समय कुर्नु पर्ने हो ?’ उनले श्रम तथा रोजगार कार्यालय, कैलालीका सूचना अधिकारी जयदेव बिष्टसंग सोधे– ‘दुई दिन भइसक्यो, आज पनि काम हुने हो की होइन ?’
मानबहादुर युएई जानका लागि पुनः श्रम स्वीकृति लिन श्रम तथा रोजगार कार्यालयमा पुगेका थिए । कार्यालयको सर्भरमा समस्या आउँदा उनीसहित अन्य चार जना त्यहाँ राखिएको बेन्चमा कुरिरहेका थिए । उनीहरूबीच श्रम स्वीकृति पाउन भइरहेको ढिलाईबारे कुराकानी भइरहेको थियो । कुराकानीबीच मानबहादुरले भने– ‘यो भन्दा त काठमाडौंबाट श्रम स्वीकृति पाउन सजिलो भएको थियो ।’ उनी वैदेशिक रोजगारमा गएको १३ वर्ष भइसकेको छ ।
कुराकानीका क्रममा मानबहादुरले त्यहाँ रहेका अरु सेवाग्राहीमाझ भने– ‘छिटो, सजिलो र कम खर्चिलो हुन्छ भन्ने आशाले यहाँ (धनगढी) पुनः श्रम स्वीकृति लिन आए, तर यहाँ त झन समस्या भोग्नु परेको छ । धेरै दिन भएकोले खर्च पनि बढि भइसक्यो । भन्नु त धेरै थियो तर, के गर्ने भनेर ?’उनीजस्तै सास्ती भोगिरहेका डोटीका पूर्णसिंह बोहराले पनि आफ्नो पीडा सुनाए । उनी पुनः श्रम स्वीकृतको प्रतिलिपिमा नाम सच्याउनका लागि धनगढीस्थित श्रम तथा रोजगार कार्यालयमा आएका थिए । भने– ‘नाम सच्याउनकै लागि मात्र पनि दुई दिन पर्खिसके, तर अहिलेसम्म काम भएको छैन ।’
यो मानबहादुर वा पूर्णसिंहले मात्रै भोगेको कठिनाई होइन । धनगढीस्थित श्रम तथा रोजगार कार्यालयमा सेवा पाउनका लागि आउने प्रायः सेवाग्राहीको यस्तै खालको गुनासो रहने गरेको छ ।
कार्यालयले पनि सेवाग्राहीलाई छिटोछरितो ढंगले सेवा प्रवाह गर्न नसकेको स्वीकारेको छ । कार्यालयका अनुसार दरबन्दी अनुसार कर्मचारी नहुँदा र वैदेशिक रोजगार दुर्घटना बीमा गर्न तथा कल्याणकारी कोष रकम जम्मा गर्ने बैंक टाढा भएको हुँदा ढिलाई हुने गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी बिष्टले भने– ‘दैनिक १५ देखि २० जना पुनः श्रम स्वीकृतिका लागि आउने गरेका छन । सबैको एउटै गुनासो हुन्छ– काम ढिलो भयो ।’
धनगढीस्थित श्रम तथा रोजगार कार्यालयले पुनः श्रम स्वीकृति सेवा शुरु गर्नु अघि नै संघीय श्रम तथा रोजगार मन्त्रालयले सो कार्यालयका लागि १४ जनाको दरबन्दी व्यवस्था गरेको थियो । सूचना अधिकारी विष्टले भने– ‘तर, अहिले यहाँ आठ जना मात्र कर्मचारी छन् ।’ श्रम तथा रोजगार कार्यालयमा उपसचिव स्तरको कार्यालय प्रमुखको दरबन्दी रहे पनि सरकारले अहिलेसम्म पठाएको छैन । सेवा शुरु गर्दा कार्यालयमा विभागले एक जना भाषा अनुवादक पठाएको र एक जना कम्प्युटर अपरेटर कार्यालयले नियुक्त गरेको उनले बताए ।
उनले भने– ‘मन्त्रालयले कार्यालयलाई जिम्मेवारी त थप्यो । कर्मचारी दरबन्दी पनि तोक्यो तर, काम गर्न मिल्ने वातावरण बनाएन ।’ उनले तोकिएको कर्मचारी दरबन्दी मन्त्रालयले पदपूर्ति गर्नुपर्ने बताए ।कार्यालयमै भेटिएका मानबहादुरले चिन्ता व्यक्त गर्दै भने– ‘बैंकको कल्याण कोषमा आजै रकम जम्मा गर्न पाउने हो कि नाई ?’ श्रम तथा रोजगार कार्यालयबाट राष्ट्रिय बाणिज्य बैंक निकै टाढा छ । श्रम तथा रोजगार कार्यालयका सूचना अधिकारी विष्टले भने– सेवाग्राहीहरुको धेरै समय बैंक र बीमा कम्पनीमा लाग्ने गरेको छ । जसले गर्दा सेवाग्राहीहरू हामीमाथि आक्रोशित हुने गरेका छन् । उनले बैंक र बीमा कम्पनिको हेल्प डेस्क स्थापना गरिनुपर्ने बताए ।
उनले भने– ‘यही हेल्प डेस्क भएपछि सेवाग्राहीहरुको समय पनि बचत हुने र छिटो छरितो काम हुने छ ।’
बैदेशिक रोजगारबाट विदामा घर फर्किएका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका सेवाग्राहीलाई काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न गत माघदेखि कैलालीबाटै पुनः श्रम स्वीकृति सेवा प्रदान गर्न शुरु गरेको थियो ।कार्यालयबाट चैत मसान्तसम्म विभिन्न देशका लागि सात सय २० पुरुष र आठ महिला गरि सात सय २८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने बैशाख १ देखि ५ गतेसम्म २८ जनाले पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सुदूरपश्चिमबाट गत चैत मसान्तसम्म मलेसियामा एक सय ४८, युएईमा दुई सय ३६, कतारमा एक सय २९, साउदी अरबमा एक सय ६४, कुवेतमा ३१, ओमानमा छ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
त्यस्तै, बहराइनमा पाँच, मालदिभ्समा दुई तथा चेक रिपब्लीक, बु्रनाई, न्यूजिल्याण्ड, यूगान्डा, मकाउ, जापान र सेचेल्लेसमा एक/एक जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार