१३ बैशाख २०८१, बिहीबार

जीप दुर्घटनामा बुबा गुमाएका बालकलाई पढाईको चिन्ता



धनगढी । अहिले देशभरी नयाँ शैक्षिक सत्र २०७६ को विद्यार्थी भर्ना अभियान चलिरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारले विद्यार्थीहरूलाई विद्यालय भर्ना गराउन विभिन्न गतिविधी सञ्चालन गरिरहेका छन् । तर, यही बेला दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ का सरस्वती बमलाई ‘छोरालाई कसरी विद्यालय पठाउने ?’ भन्ने चिन्ता लागिरहेको छ ।
उनका नौ वर्षीय छोरा सन्देश अहिले कक्षा २ मा उत्तीर्ण भएका छन् । तर, सरस्वतीलाई छोराले पढ्न पाउँछ कि पाउँदैन भन्ने चिन्ताले सताएको छ । ‘घरमा प्रत्येक दिन दुई छाक खानाको कसरी जोहो गरु’ भन्ने चिन्ताले सताउँछ, छोरालाई कसरी विद्यालय पठाउने ?’ सरस्वती भन्छिन्– फागुन १७ गते भएको जीप दुर्घटनाले मेरो त सबैथोक समाप्त भयो । छोरालाई कसरी पढाउँ ?
२०७५ साल फागुन १७ गते दुहुँ गाउँपालिका वडा नम्बर ३, राताकाठाको भीरमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो । जीप दुर्घटनामा सरस्वतीका ३५ वर्षीय श्रीमान धनबहादुर बम, ७१ वर्षीया सासुआमा धनादेवी बमको पनि मृत्यु भएको थियो । अहिले घरमा २५ वर्षीय सरस्वती, उनका छोरा सन्देश र बृद्ध ससुरा छन् ।
‘श्रीमानले विदेशमा गएर कमाएर ल्याएको रकमबाट छोरालाई एउटा स्थानीय निजि विद्यालयमा पढाइरहेकी थिए । अब घरमा कोही पनि कमाउने छैन’ सरस्वतीले
बुधबार अनुमोदनसंग भनिन्– घर खर्च चलाउन म घाँस दाउँरा बोक्ने, ढुंगा बोक्ने लगायतका दैनिक मजदूरी गरेर तीन जहानका लागि दुई छाकको जोहो गरिरहेकी छु । सरस्वतीले दैनिक मजदुरीबाट आएको ज्यालाले छोरालाई शिक्षा दिन सक्ने स्थिति नरहेको बताइन् । उनले भनिन्– श्रीमानको मृत्यु पछि पाउनुपर्ने क्षतिपूर्ति अहिलेसम्म पाएकी छैन् ।
जीप दुर्घटनापछि स्थानीय जीप समितिले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको थियो ।
दार्चुलाबाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेश सभा सदस्य कुमारी नन्दा बमले जीप दुर्घटनामा बुबा गुमाएका सन्देशकोे लालनपालन, शिक्षा, स्याहारमा कठिनाई भइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार