१३ बैशाख २०८१, बिहीबार

‘गोरखापत्रलाई समयसापेक्ष प्रतिस्पर्धी बनाउन जरुरी’



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुलुकको जेठो अखबार गोरखापत्रमाथि सबैको विश्वास रहेको बताएका छन् ।


गोरखापत्र प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको मङ्गलबार धनगढीमा उद्घाटन गर्दै उनले कुनै पनि समाचारको पुष्टि गर्नका लागि सबैले गोरखापत्र हेर्ने गरेको उल्लेख गरे । ‘यो आफैमा महत्वपूर्ण पत्रिका हो’, मुख्यमन्त्री भट्टले भने, ‘राम्रो र विश्वसनीय छ ।’
गोरखापत्रमाथि आम नेपालीको विश्वास रहे पनि यसलाई अहिलेको युग सुहाउँदो प्रतिस्पर्धी बनाउन भने आवश्यक रहेको उनको भनाइ थियो । ‘गोरखापत्रले तुरुन्त जनतालाई विश्वसनीय समाचार दिन सक्नु पर्दछ’, मुख्यमन्त्रीले भने ।
उनले सुदूरपश्चिम प्रदेश सरकारसंग अहिले सरकारी सञ्चार माध्यम नरहेको उल्लेख गर्दै यो प्रदेशबाट गोरखापत्रको प्रकाशन हुन जरुरी रहेको औंल्याए । ‘प्रदेश सरकारले राम्रो काम गरे पनि जनतामा भ्रम फैलाउने खालका समाचार आउने गरेका छन्’, मुख्यमन्त्री भट्टले भने, ‘त्यसकारण, हामीले गरेका राम्रा कामको जनतामा विश्वास दिलाउनका लागि पनि सरकारी सञ्चार माध्यमको ब्युरो यहाँ स्थापना हुन आवश्यक छ ।’
उनले यो प्रदेशबाट गोरखापत्रको प्रकाशनका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । तीन तहकै सरकारले गरेको काम जनताले थाहा पाउने वातावरण गोरखापत्रले सृजना गर्न आवश्यक रहेको मुख्यमन्त्रीको बताए ।
यसैगरी, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सूचना नै शक्ति रहेको चर्चा गरे । उनले सञ्चार जगतलाई प्राप्त भएको शक्ति मुलुक, देशभक्ति, गरिब र निमुखाको निम्ती प्रयोग हुन आवश्यक रहेको बताए ।
पर्यटन, जलस्रोत लगायत थुप्रै सम्भावनामा सुदूरपश्चिम प्रदेश धनी रहेको उल्लेख गर्दै मन्त्री शाहले यी सम्भावनाहरुलाई मूलधारमा ल्याउने भूमिका निर्वाह गर्न सञ्चार माध्यमलाई आग्रह गरे ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रलाई सम्पूर्ण नेपालीको पहिलो पत्रिका बनाउने अभियानमा लागेको बताए । ‘११८ वर्ष पुरानो गोरखापत्र निरन्तरतामात्रै होइन’, उनले भने, ‘हामी यसलाई जनताको पत्रिका बनाउन चाहन्छौं ।’
प्रदेश सरकारसंग हातेमालो गरेर गोरखापत्रलाई प्रदेशबाटै प्रकाशन गर्ने चाहना रहेको कार्यकारी अध्यक्ष भण्डारीले बताए । कार्यक्रममा गोरखापत्र सञ्चालक समिति सदस्य दुर्गा भण्डारी, निमित्त प्रधान सम्पादक ओमप्रसाद श्रेष्ठ, भाषा विज्ञ शरदचन्द्र वस्ती, सल्लाहकार सम्पादक गोपाल खनाल लगायतले बोलेका थिए ।
यसैगरी, दी राइजिङ नेपालका प्रधान सम्पादक जगदीश पोखरेल, प्रदेश समाचार ब्युरो प्रमुख गोकर्णप्रसाद अर्याल, नयाँ नेपाल भाषा संयोजक कुमार विवेकानन्द मिश्र लगायतले गोरखापत्रमा हुनु पर्ने समाचार कन्टेन्ट र समाचारदाताले सुधार गर्नु पर्ने विषयमा प्रष्ट पारे । गोरखापत्र संस्थानले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा कार्यरत समाचारदाताहरुको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार