१५ चैत्र २०८०, बिहीबार

अनुमतिबिना अस्पताल सञ्चालन प्रकरणः सारथीको दाबी– उपचार सेवा शुरु गरेको छैन



धनगढी । धनगढीमा सम्बन्धित निकायबाट आवश्यक अनुमति नलिएर स्वास्थ्य सेवा शुरु गरेको सारथी अस्पतालले “आफूले सेवा शुरु नगरेको” भन्दै सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयलाई जवाफ दिएको छ ।
विभिन्न सञ्चार माध्यममा आवश्यक अनुमति नलिएर सारथी अस्पतालले स्वास्थ्य उपचार सेवा शुरु गरेको बारे समाचार प्रकाशन, प्रसारणपछि प्रदेश स्वास्थ्य निर्देशनालयले सो अस्पताललाई “तीन दिन भित्र अनुमतिपत्रसहितको कागजपत्र पेस गर्न” निर्देशन दिएको थियो ।
सोमबार प्रदेश स्वास्थ्य निर्देशनालयलाई बुझाएको कागजपत्रमा सारथी अस्पतालले भनेको छ–अस्पताल सञ्चालनका लागि अझैं अनुमति पाएका छैनौं, तर धनगढी उपमहानगरपालिकामा आवेदन दिएका छौं । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सारथी अस्पतालले अनुमति नपाएकोले सेवा शुरु नगरेको जवाफ दिएको बताए ।
गत २८ गतेदेखि उपचार सेवा शुरु गरेको सारथीले अस्पतालले ‘त्यस दिन सेवा शुरु गरेको नभई स्वास्थ्य शिविर सञ्चालन गरेको’ भनेर निर्देशनालयलाई प्रतिक्रिया दिएको छ । गत बिहीबारदेखि अस्पतालले हेमेटालोजी सम्बन्धी विशेष सेवासहित आफ्ना सेवाहरू शुरु गरेको थियो ।
अस्पतालमा हेमेटालोजी विशेषज्ञ डाक्टर विशेष पौडेलले बिहीबार उपचार सेवा दिएका थिए । अस्पतालले उपचार सेवा लिनका लागि भन्दै नाम दर्ता गराउन केही सञ्चार माध्यममार्फत प्रचारप्रसार समेत गरेको थियो ।
सञ्चार माध्यममा प्रकाशित सूचनामा अस्पतालमा नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर दिपेश शाक्य र फोक्सो रोगसम्बन्धी विशेषज्ञ डाक्टर बिदेश बिष्टले सेवा प्रदान गर्ने सो सूचनामार्फत जानकारी गराइएको थियो । त्यस्तै, अस्पतालले २४ सैं घण्टा फिजिसियन सेवा, सर्जन विशेषज्ञ डाक्टरबाट चेकजाँच र अप्रेसन, गाइनो विशेष डाक्टरबाट अप्रेसन लगायतका सेवा पनि प्रदान गर्ने जनाइएको छ ।
नेपाल खाद्य संस्थानले धनगढीमा रहेको गोदाम मासिक ६५ हजार रुपैयाँमा सारथी अस्पताल प्रालिलाई भाडामा दिइएको छ । सो अस्पतालमा वेदप्रकाश जोशीसहित पाँच जनाको लगानी रहेको बताइएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले सारथी अस्पतालले बुझाएको कागजपत्र हेर्ने काम भइरहेको बताए । “कसरी अगाडि बढ्ने भन्ने छलफल भइरहेको छ’ उनले भने । सारथी अस्पतालले स्वास्थ्य निर्देशनालयलाई केही कागजपत्र बुझाए पनि जिल्ला प्रशासन कार्यालयमा भने बुझाएको छैन ।

अन्य अस्पतालसंग पनि विवरण माग

यसैबीच, जिल्ला प्रशासन कार्यालयले धनगढी उपमहानगरपालिकामा सञ्चालन रहेका सबै निजी अस्पतालहरूको अनुमतिसहितको आवश्यक कागजपत्र माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबारसम्म सात वटा निजि अस्पतालले कागजपत्र बुझाएको जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने–निजी अस्पतालहरूको कागजपत्र संकलन गर्ने क्रम जारी रहेको छ । सोमबारसम्म सात वटा निजी अस्पतालले कागजपत्र बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार धनगढीमा सञ्चालनमा रहेका नवजीवन अस्पताल, नवबुद्ध अस्पताल, नोभा अस्पताल, माया मेट्रो, कैलाली अस्पताल, सिपी अस्पताल र न्यू सिटी पोलिक्लिनिकले कागजपत्र बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी बोहराले भने– सारथी अस्पतालले अझैं हामीलाई कागजपत्र बुझाएको छैन । निर्देशनालयलाई बुझाएको भए थाहा भएन । प्रजिअ बोहराले अनुमति प्राप्त नगरेकोले सारथी अस्पतालले कागजपत्र नबुझाएको हुन सक्ने बताए ।
‘अनुमति नै लिएको छैन, अनि कहाँबाट कागजपत्र बुझाउने हो त ?’ उनले भने– तोकिएको समयमा प्रशासनमा जानकारी नदिए पुनः ताकेता गर्छौ र फेरी पनि बुझाएन भने आवश्यक कारबाही प्रक्रिया अघि बढाउने छौं ।
प्रजिअ बोहराले प्रशासनमा कागजपत्र बुझाएका अस्पतालहरूको कागजपत्र अध्ययन गरेर आवश्यक प्रक्रियामा अघि बढ्ने बताए । उनले भने– धनगढी त अस्पतालहरूको अखडा नै भइसकेको रहेछ । पाइलैपिच्छे कसरी यति अस्पतालले अुनमति पाएका रहेछन् ?

यो पनि हेर्नुहोस–

सारथीलाई अनुमतिपत्र पेस गर्न निर्देशन

अनुमति नलिएरै अस्पतालको सेवा शुरु

खाद्य संस्थानको गाेदाममा निजी अस्पताल

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार