१२ बैशाख २०८१, बुधबार

अन्तर्राष्ट्रिय गोजुरियो प्रतियोगिता जेठमा



धनगढी । राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ दोस्रो साता क्षेत्रीय रंगशाला धनगढीमा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ ।


जेठ ९ देखि ११ गतेसम्म हुने दुई दिने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका झण्डै १ हजार खेलाडीहरुले सहभागिता जनाउँने आयोजक राष्ट्रिय गोजुरियो कराँते दो संघले जनाएको छ ।
संघले सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा काता, कुमुते र टिम कुमिते गरी तीन विधामा प्रतिस्पर्धा हुने जनायो ।
प्रतियोगिता संयोजक तथा संघका केन्द्रीय महासचिव प्रकाश चन्दका अनुसारतीनवटै स्पर्धामा ४० स्वर्ण, ४० रजत र ८० कास्यका लागि प्रतिस्पर्धा हुनेछ। कुल ४१ लाख ९१ हजार बजेट रहेको प्रतियोगिताको टिम च्याम्पियनले ७५ हजार पुरस्कार पाउँनेछन्। जुन नेपालको इतिहासमा सबैभन्दा ठूलो पुरस्कार राशी समेत रहेको उनले बताए ।
खुल्ला प्रतियोगिता भएकाले नेपालबाट सातवटै प्रदेश, स्कुल, कलेज, डोजो तथा विभागीय खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउँने संघले जनाएको छ। १६ वर्षदेखि नियमित रुपमा हुदैँ आएको प्रतियोगिताको विभिन्न स्पर्धामा भारतका मात्रै ४ सय बढी खेलाडीले सहभागिता हुने संघले जनाएको छ ।
‘प्रतियोगिताको मुख्य उदेश्य खेलका माध्यमबाट नेपाल अनि सुदूरपश्चिम प्रदेशको पहिचान फराकिलो बनाउँने हो,’ कार्यक्रम संयोजक चन्दले भने,‘खेल पर्यटनलाई बढावा दिई सुदूरपश्चिम क्षेत्रको विकासको समृद्धिमा समेत प्रतियोगिता कोशेढुंगा बनेको छ ।’
प्रतियोगिता सुदूरपश्चिम क्षेत्रका कराँते खेलाडीको स्तरवृद्धि गर्न तथा व्यवसायिक बनाउँन समेत भुमिका खेलेको चन्दले बताए ।
कराँतेका विभिन्न संघ मध्ये सबैभन्दा सक्रिय संघ रहँदै आएको गोजुरियो संघले गत असोजमा धनगढीमा २२ सय जना महिलाहरुलाई एकैपटक ७ दिने महिला आत्मरक्षा तालिम समेत सञ्चालन गरेको थियो ।
कार्यक्रममा नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले सा–सानो सहयोगले प्रतियोगिता सफल हुने भन्दै व्यक्तिगत रुपमा आ–आफ्नो तर्फबाट मेडल तथा अवार्डका लागि भन्दै १५ हजार नगद सहयोग गरेका थिए ।
राष्ट्रवादी विकासशील अभियानको साथ प्रतियोगितालाई अघिल्लो संस्करण झै यस संस्करणमा पनि राष्ट्रवादी विकासशील अभियान नेपाल रहेको छ । अभियान र संघकाबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर समेत भयो ।
सम्झौता पत्रमा विकासशील अभियानका अध्यक्ष कमलबहादुर श्रेष्ठ र संघका केन्द्रीय अध्यक्ष गणेश कार्कीले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार विकासशीलले नगद ८ लाखसहित प्रतियोगितालाई अन्य भौतिक सहयोग प्रदान गर्नेछ ।
सम्झौतापछि मन्तव्य राख्दै राष्ट्रवादी विकासशील अभियानका अध्यक्ष श्रेष्ठले आफूहरुको सामाजिक संस्था भएकाले खेलमार्फत युवाहरुमा सकरात्मक सन्देश सम्प्रेषणका निमित्त प्रतियोगितालाई सघाउ पुर्याएको बताए ।
‘खेल विशेषगरी युवाहरुसँग सम्बन्धित हुन्छ,’ उनले भने, ‘हामीले युवाहरु मार्फत देश विकासमा सकरात्मक सन्देश प्रवाहका लागि खेलमा लगानी गरेका हौं । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौं ।’
राष्ट्रवादी विकासशील अभियानले यसअघि क्रिकेट, भलिबल तथा अन्य मार्सल आर्टसका विधामा पनि सहयोग गरेको बताउँदै उनले भविष्यमा पनि युवाहरुलाई प्रोत्साहन पुग्ने कार्यक्रममा सहयोगलाई निरन्तरता दिने बताए ।
यस्तै संघका अध्यक्ष कार्कीले सुदूरपश्चिमको धनगढीमा प्रतियोगिता आयोजना गर्नु आफैमा चुनौतीपूर्ण काम भएको बताउँदै प्रतियोगितामा सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे। साथै उनले प्रतियोगिताहरु काठमाडौंमा मात्रै नभएर मोफसलमा आयोजना गर्दा स्थानीय खेलाडीहरु त्यसबाट लाभाम्वित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार