८ बैशाख २०८१, शनिबार

आसन्न स्थानीय निर्वाचन : कैलालीमा चार लाख बढी मतदाता



धनगढी । आसन्न स्थानीय तह निर्वाचनका लागि कैलालीमा चार लाख बढी मतदाता रहेका छन् । मतदाताको सङ्ख्याको दृष्टिले कैलाली नेपालका ७५ जिल्लामध्ये छैटौँ नम्बरमा परेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कैलालीमा चार लाख तीन हजार दुई सय ८० मतदाता रहेका छन् । कैलालीमा एक उपमहानगरपालिका, छ नगरपालिका र छ गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय, कैलालीले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगबाट प्रकाशित अन्तिम नामावली अनुसार धनगढी उपमहानगरपालिकामा ७३ हजार आठ सय ११ मतदाता रहेको जनाएको छ ।
त्यस्तै, टीकापुर नगरपालिकामा ३९ हजार एक सय ९२, गोदावरी नगरपालिकामा ४० हजार एक सय ४५, घोडाघोडी नगरपालिकामा ३९ हजार छ सय ८१, गौरीगंगा नगरपालिकामा २८ हजार चार सय ७९, भजनी नगरपालिकामा २६ हजार नौ सय ५२ र लम्कीचुहा नगरपालिकामा ३९ हजार दुई सय ३५ मतदाता रहेको जनाइएको छ ।
यसै गरी, कैलारी गाउँपालिकामा २९ हजार नौ सय ८७, चुरेमा नौ हजार सात सय ४६, जानकीमा २७ हजार चार सय ५८ मतदाता र जोशीपुर गाउँपालिकामा १९ हजार तीन सय ५५ मतदाता रहेका छन् ।
त्यस्तै, बर्दगोरिया गाउँपालिकामा १५ हजार सात सय र मोहन्याल गाउँपालिकामा नौ हजार दुई सय १७ मतदाता रहेका छन् ।
कैलालीमा १३ वटा स्थानीय तहबाट छ सय ८९ जना जनप्रतिनिधि निर्वाचित हुने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
यसमध्ये दुई सय ५२ जना महिला जनप्रतिनिधि र ३३ जना दलित तथा अल्पसंख्यक समुदायबाट जनप्रतिनिधि हुने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनका लागि कैलालीमा दुई सय ३१ मतदान स्थलमा चार सय ९० मतदान केन्द्र तोकिएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका प्रमुख मोहनप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार