७ बैशाख २०८१, शुक्रबार

सारथीलाई अनुमतिपत्र पेस गर्न निर्देशन



शेरबहादुर ऐर/धनगढी । आवश्यक अनुमति नै नलिएर कैलालीको धनगढीमा स्वास्थ्य उपचार सेवा शुरु गरेको सारथी अस्पताललाई अस्पतालको मापदण्ड र अनुमतिपत्र पेस गर्न निर्देशन दिइएको छ ।


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार सो अस्पताललाई तीन दिनभित्र अनुमति प्रमाणपत्र पेस गर्न पत्र पठाएको जनाएको छ ।
अनुमोदन दैनिकसहित विभिन्न सञ्चार माध्यममा सारथी अस्पतालले आवश्यक अनुमति नलिएरै स्वास्थ्य उपचार सेवा शुरु गरेकोबारे समाचार प्रकाशन, प्रसारण गरेपछि प्रदेश स्वास्थ्य निर्देशनालयले सोबारे छलफल गर्नुका साथै अस्पतालसंग आवश्यक अनुमतिपत्र तथा अन्य कागजपत्र माग गरेको जनाइएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले शुक्रबार प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालसंगको छलफलपछि अस्पताललाई तीन दिनभित्र आवश्यक कागजपत्र पेस गर्न पत्राचार गरिएको जानाकरी दिए ।
‘हामीले मापदण्ड पुरा गरेको वा नगरेको कागजपत्र तथा अनुमतिपत्र तीन दिनभित्र उपलब्ध गराउन भनेर सारथी अस्पताललाई पत्र पठाएका छौं’ निर्देशक डाक्टर अवस्थीले भने– सो समयभित्र कागजपत्र उपलब्ध गराउन नसके सिल गर्न बाध्य हुनेछौं ।
निर्देशक डाक्टर अवस्थीद्वारा हस्ताक्षरित प्रदेश स्वास्थ्य निर्देशनालयको पत्रमा भनिएको छ–‘त्यस (सारथी) अस्पतालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड निर्देशिका, २०७० (पहिलो संशोधन २०७३) को मापदण्ड पुरा गरेको वा नगरेको आवश्यक प्रमाणपत्रसहित तीन दिनभित्र यस निर्देशनालयमा जानकारी पठाउन हुन अनुरोध छ ।

याे पनिः अनुमति नलिएरै अस्पतालको सेवा शुरु

खाद्य संस्थानको गाेदाममा निजी अस्पताल

सारथी अस्पतालले अनुमतिको लागि धनगढी उपमहानगरपालिका, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयमा निवेदन दिएको भए पनि अहिलेसम्म सञ्चालन अनुमति पाएको छैन ।
धनगढीस्थित नेपाल खाद्य संस्थान, सेती अञ्चल कार्यालयको गोदाम भाडामा लिएर अस्पतालले बिहीबारदेखि उपचार सेवा शुरु गरेको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी (दोस्रो संशोधन २०७३) निर्देशिका अनुसार “अनुमति बिना कुनै पनि स्वास्थ्य संस्थाले सेवा प्रदान गराउन नपाउने” व्यवस्था रहेको छ ।
स्वास्थ्य सेवाको स्पष्ट ऐन नबनेकोले अहिले नया“ अस्पताललाई अनुमति दिने काम नभएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयमा अनुमतिका लागि सारथी अस्पतालको निवेदन परे पनि स्वीकृत नगरेको निर्देशक डाक्टर अवस्थीले बताए ।
त्यस्तै, धनगढी उपमहानगरपालिकामा पनि सो अस्पतालको अनुमतिका लागि परेको निवेदनको कुनै सुनुवाई भएको छैन । सारथी अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीले आफुहरूले अनुमतिपत्र पाएर नै सञ्चालन गरेको दावी गरेका छन् । अनुमोदन दैनिकसंगको कुराकानीमा उनले भने– अनुमतिपत्र पाएको वा नपाएको बारे स्वास्थ्य शाखा प्रमुखलाई होइन नगर प्रमुखसंग सोध्नुहोस् ।
धनगढीस्थित नेपाल खाद्य संस्थानको गोदाम मासिक ६५ हजार रुपैया“मा सारथी अस्पताल प्रालिलाई भाडामा दिइएको छ । सो अस्पतालमा प्रबन्ध निर्देशक जोशीसहित पा“च जनाको लगानी रहेको बताइएको छ । प्रबन्ध निर्देशक जोशीले अस्पतालमा पा“च करोड रुपैया“ बढी लगानी रहेको बताए ।
१५ शैøयासहितको सो अस्पतालमा थारु समुदायमा देखिने सिकलसेल एनिमियाको उपचारसहित, कृत्रिम गर्भाधान, क्यान्सर लगायतको विशेष उपचार सेवाको सुविधा रहने अस्पतालका प्रबन्ध निर्देशक जोशीले बताए । प्रबन्ध निर्देशक जोशीले अस्पतालमा आवश्यक कक्षका लागि गोदाममा ‘पार्टेसन’ गरि इर्मेजेन्सी कक्ष, रिसेप्सन, प्रयोगशाला, अप्रेसन कक्ष, एक्सरे मेसिन लगायतका व्यवस्था गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार