११ बैशाख २०८१, मंगलवार

स्वास्थ्य बिमा कार्यक्रमका तीन वर्षः १४ प्रतिशत जनसंख्यामात्र आवद्ध



धनगढी । कैलालीमा स्वास्थ्य विमा कार्यक्रम लागु भएको तीन वर्षको अवधिमा कैलालीमा १४ प्रतिशत जनसंख्या मात्र आवद्ध भएको छ । नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास वोर्डमार्फत २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य विमा कार्यक्रमको आरम्भ गरेको थियो ।
२०६८ को जनगणना अनुसार कैलालीमा सात लाख ७१ हजार चार सय ७५ जनसंख्या रहेको छ । स्वास्थ्य विमाको प्रदेश कार्यालयको तथ्यांक अनुसार कैलाली जिल्लामा एक लाख दुई हजार पाँच सय २२ जना यस कार्यक्रममा आवद्ध भएका छन्

कार्यालयका अनुसार विमा कार्यक्रममा महिलाको सहभागिता बढी रहेको छ । यस कार्यक्रममा ५३ हजार नौ सय ९५ महिला र ४८ हजार पाँच सय २७ पुरुष आवद्ध भएको स्वास्थ्य विमा कार्यालयको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य बिमा कार्यालयका अनुसार पछिल्लो समय नविकरण गर्नेको संख्या पनि बढ्दै गएको छ । २०७२ साल चैत २५ गते पाँच सय १२ जनाले स्वास्थ्य विमा गरेकोमा २०७३ साल चैत २५ गतेसम्म एक सय १२ जनाले मात्र नविकरण गरेका थिए ।
२०७२ साल जेठसम्म स्वास्थ्य बिमा कार्यक्रममा एक हजार ५३ जना आवद्ध भएकोमा तीन सय १६ ले मात्र नविकरण गरेका थिए । त्यस्तै, असोजमा एक सय ६९ जना आवद्ध भएकोमा ७४ जनाले मात्र नविकरण गरेका थिए । त्यस्तै, पुसमा एक सय ७० आवद्ध भएकोमा ७० जनाले नविकरण गरेका थिए ।
त्यस्तै, २०७३ साल चैत महिनामा चार सय ८० आवद्ध भएकोमा दुई सय ३४, जेठमा सात सय ८८ जना आवद्ध भएकोमा तीन सय ८३, असोजमा दुई सय ४३ जना आवद्ध भएकोमा ७६ र पुसमा दुई हजार तीन सय आठ जना आवद्ध भएकोमा एक हजार एक सय ६२ जनाले नविकरण गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिमका सात जिल्लामा कार्यक्रम

स्वास्थ्य विमा कार्यक्रम सुदूरपश्चिमका सात जिल्लामा विस्तार गरिएको छ । कैलालीबाट शुरु भएको यो कार्यक्रम यस प्रदेशको बैतडी, बाजुरा, अछाम, बझाङ, कञ्चनपुर र दार्चुलामा विस्तार भइसकेको छ ।
बोर्डका अनुसार कैलाली, बैतडी, बाजुरा, अछाम र बझाङमा सेवा विस्तार भइसकेको र दार्चुला र कञ्चनपुरमा जेठदेखि सेवा विस्तार गरिने छ । यस प्रदेशको डोटी र डडेल्धुरामा पनि विमा कार्यक्रम विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यस प्रदेशको कुल जनसंख्यामध्ये १० दशमलब ३८ प्रतिशत जनसंख्या स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन् ।
प्रदेशको कैलालीमा एक लाख दुई हजार पाँच सय २२, अछाममा १७ हजार तीन सय ५४, बैतडीमा छ हजार पाँच सय ६८, बाजुरामा १९ हजार आठ सय ७९ र बझाङमा २० हजार सात सय ९३ गरि एक लाख ६७ हजार एक सय १६ जनसंख्या विमा कार्यक्रममा आवद्ध भएको जनाइएको छ ।
कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा एक करोड ५७ लाख ४४ हजार एक सय ७३ रुपैयाँ र आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म एक करोड ४५ लाख सात हजार नौ सय ६८ रुपैया सेवाप्रदायक संस्थालाई भुक्तानी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार