८ बैशाख २०८१, शनिबार

छाउगोठ पुनः भत्काइदै (फाेटाे फिचर सहित)



बौनिया । केही वर्ष पहिले बर्दगोरीयामा भत्काइएका छाउगोठ सोमबारदेखि पु्नः भत्काइन थालिएको छ ।

बर्दगोरीया गाउँपालिका–१ मा सोमबार फेरि बनाइएका छाउगोठ भत्काइएको छ । छाउपडी प्रथा अन्त्यका लागि गाउँपालिकाका ६ वटै वडामा पुनः छाउगोठ बनाएर घर भन्दा टाढा छाउ गोठमै बस्ने गरिएको पाइएपछि भत्काउन थालिएको हो ।
नेपाल सरकारले नै छाउगोठ अन्त्य गर्ने अभियान चलाउन निर्देशन दिएको छ । सोही अभियान अन्तर्गत गाउँपालिकाको वडा नं. १ का विभिन्न टोल टोलमा सोमबार करिब २० छाउगोठ भत्काइएको छ ।

सो वडाको छापा बाग, कट्टीपुर हुँदा मुडा गाउँका केही घरहरुमा सोमबार छाउगोठ भत्काइएको छ । समाजमा व्याप्त कुरीति, कुसंस्कार र अन्धविश्वास मानिदै आएको छाउ प्रथालाई हटाउन गाउ“पालिकाले विशेष अभियान सञ्चालन गर्न लागेको वडा नं. १ का वडा अध्यक्ष जयरुप खतिवडाले जनाए ।
छाउगोठ भत्काउन जादा कतिपय ठाउँमा स्थानीय महिला तथा पुरुषले सहयोग गरेका थिए भने कतिपय ठाउँमा हाम्रो देउता रिसाउछ भन्दै गाली गलौज समेत गरेका अध्यक्ष खतिवडाले बताए ।


छाउ भएका बेलामा गोठमा सुताउने, दही, दूध खान नदिने कार्य गलत भएको वडा नं. १ की सदस्य बास्ना सिंहले बताइन् । उनले छाउ गोठमा एक्लै सुत्दा सर्पको टोकाइबाट मृत्यु र बलात्कारको सिकार हुन सक्ने भएकाले वडा कार्यालयले गोठको अन्त्य गर्दै छाउ भएका बेला घरभित्र सुताउनुपर्ने बताइन् ।
समाजमा रहेका धामी, झाँक्री र पुरोहितले छाउपडी प्रथालाई कायम राख्न सहयोगीको भूमिका निर्वाह गर्ने हुँदा यो प्रथाको अन्त्यका लागि उनीहरुलाई सचेतनामूलक विशेष तालीमको व्यवस्था गरिनुपर्ने स्थानीयले बताए ।


वडा अध्यक्ष खतिवडाले छाउ हुनु प्राकृतिक नियम भएकाले छाउ भएका महिलालाई गोठमा बसाउने कार्य गलत भएको बताउदै कुसंस्कार, रुढीवादी र अन्धविश्वासका कारण समाजमा यो प्रथा कायमै रहेको बताए । धामी, झाँक्री, पुजारी र पुरोहितले प्रभावकारी भूमिका निर्वाह गर्न सके छाउपडी प्रथा उन्मूलन हुने खतिवडाको भनाई छ ।
छाउ भएका महिलालाई दूध, दही, मोही र पोषिला खानेकुराबाट वञ्चित हुनुपरेको वडा सदस्य मथुरा विकले बताइन् । सुदूपश्चिम प्रदेशमा छाउपडी प्रथा कायमै छ । छाउपडी गोठमा बस्दा कतिपय महिलाले अकालमा ज्यान गुमाउनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार