१५ चैत्र २०८०, बिहीबार

चैतमै विप्लवका गतिविधि नियन्त्रण गरिन्छ: प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैतमै नियन्त्रण गरिसक्ने बताएका छन् ।


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को संयुक्त संसदीयदलको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । ‘वहाँहरु सहमतिमा आए ठिकै छ । नत्र विप्लव समुहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विकास निर्माणमा अवरोध, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने, मान्छे मार्ने अनि हंसियाहथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै ।’
प्रधानमन्त्री ओलीले संसदको हिंउदे अधिवेशन सकिएकोले साँसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिए । जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न साँसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए । “तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस् । सरकारले गरेकाकामहरुको प्रचार गर्नुहोस । जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ । त्यसको खण्डन गर्नुहोस । सत्य कुरा भन्नुहोस । जनताका कुरा सुन्नुहोस । आगामी बर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस,” प्रधानमन्त्री ओलीले साँसदहरुसँग भने “जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिनुहोस ।”


नेकपाका संसदीयदलका नेता र एवं पार्टी अध्यक्ष समेत रहेका भएका प्रधानमन्त्री ओलीले स्थानीयतहको पार्टी एकताको बारेमा जनताले साँसदहरुसँग धेरै प्रश्न सोध्न सक्ने बताए । तर अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरे । “केन्द्रमा एकिकरण भएको महिना दिनभित्रै सबै कमिटीको एकता सकिनु पथ्र्यो । यसमा अनावश्यक विलम्ब भएको छ,” प्रधानमन्त्री ओलीले भने, “तर अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै एकताका सबै काम टुंगिन्छन् ।”
प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोक प्रियता अझै बढी रहेको बताए । नेकपाको स्पष्ट नीति र लक्ष्यभएकोले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको बताए । “देशमा नेकपा जस्तो स्पष्ट नीति, लक्ष्यभएको अर्को पार्टी छैन । हाम्रो स्पष्ट लक्ष्य छ समृद्धि सहितका सुखी नेपाली” प्रधानमन्त्री ओलीले भने “यही लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार