१२ बैशाख २०८१, बुधबार

४३४ सिमकार्डसहित ‘कल बाइपास’ गर्ने पक्राउ



धनगढी । ‘कल बाइपास’ सञ्चालन गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अछामको बान्नीगढी गाउँपालिका–३ का १८ वर्षीय रमेश साउदलार्इ प्रहरीले काठमाडाैंबाट पक्राउ गरेकाे हाे ।

उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले आइतबार राति भैंसेपाटीबाट पक्राउ गरेको हो।

उनले टिकाथलीस्थित आफ्नो कोठाबाट ‘कल बाइपास’ गर्दै आएका थिए। प्रहरीले उनको कोठाबाट १६ पोर्टको गेटवे १ थान, ३२ पोर्टको गेटवे २ थान, नेपाल टेलिकमको सिमकार्ड १ सय ६९ थान, एनसेलको सिमकार्ड २ सय ६५ थान, इन्भर्टर १ थान, गोल्प डिभाइस १ थान बरामद भएको छ।

त्यसैगरी, एसी एडप्टर २ थान, ल्यान्ड केवल ४ थान, ब्याट्री १ थान, वर्ल्डलिंकको इन्टरनेट डिभाइस १ थान, मोबाइल १ थान र रिचार्डहरु बरामद गरिएको महाशाखाका एसपी सोमेन्द्रसिंह राठाैरले जानकारी दिए।

उनीविरुद्ध दुरसञ्चार ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुस्न्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार