१६ चैत्र २०८०, शुक्रबार

आसन्न स्थानीय निर्वाचन : दलहरू उम्मेदवार टुंगो लगाउन व्यस्त, माओवादी केन्द्रले लगभग टुंग्यायो



धनगढी । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू उम्मेदवार छनोटमा व्यस्त भएका छन् । विभिन्न राजनीतिक दलका गाउँ, नगर तथा वडा र क्षेत्रीय कमिटीहरूले उम्मेदवारका आकांक्षीहरूको नामावली सङ्कलन गरी छनोट गर्ने कमिटिमा पठाउने क्रम तीव्र बनाएका छन् ।
नेपाली काँग्रेसले वैशाख ६ गते बस्ने जिल्ला कार्यसमिति बैठकबाट सबै उम्मेदवारको टुंगो लगाउने जिल्ला सभापति नरनारायण शाहले जानकारी दिए । नेपाली काँग्रेस क्षेत्र नम्बर १ मा पर्ने टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूका आकांक्षीहरूको सूची तयार गरी जिल्ला कार्यसमितिमा पठाइएको काँग्रेस क्षेत्रीय सभापति भूवनेश्वर अधिकारीले बताए ।
उनले टीकापुर नगरपालिकामा पार्टीका तर्फबाट प्रमुखमा जंगबहादुर साउँद, केशरी विष्ट, जगतबहादुर सिंह रावल, नृप खड्का लगायतब ११ जनाको दाबी परेको बताए ।
जिल्लाका अरू क्षेत्रीय कार्यालयहरूले पनि आफ्नो क्षेत्रभित्र पर्ने नगरपालिका तथा गाउँपालिकाका विभिन्न पदका लागि आकांक्षीहरूको नामावली सङ्कलन गरिसकेको र एकदुई दिनभित्रै जिल्लामा पठाउने जिल्ला सचिव प्रकाश बमले बनाए ।
नेकपा एमाले कैलालीले यही ७ गते वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्ने जनाएको छ । एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीले १० गतेभित्र प्रदेश समितिले स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको टुंगो लगाउने जानकारी दिए ।
कैलालीमा उम्मेदवारी छनोटमा नेकपा माओवादी केन्द्र भने अगाडि देखिएको छ । माओवादी केन्द्रले आइतबारसम्म जिल्लाको घोडाघोडी र टीकापुर नगरपालिकाबाहेक बाँकी सबै गाउँपालिका तथा नगरपालिकामा उम्मेदवारी तय गरिसकेको जनाएको छ ।
माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हरि चौधरीका अनुसार मंलबारसम्म जिल्लाका सबै १३ स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारको चयन भइसक्ने छ ।
जनअधिकार फोरम लोकतान्त्रिकले पनि सबै स्थानीय तहका लागि पार्टीका तर्फबाट प्रमुख र उपप्रमुखका आकांक्षीको नाम सङ्कलन गरिसकेको जनाएको छ ।
आज (सोमबार) फोरम लोकतान्त्रिक र थरुहट तराई पार्टीबीच एकता हुने र भोलि ५ गते जिल्ला कमिटी बैठकको निर्णयअनुसार थरुहट पार्टीका नेताहरू समेतलाई समावेश गरी उम्मेदवारको अन्तिम टुंगो लगाउने लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष गयाप्रसाद कुश्मीले बताए ।
कैलालीका १३ स्थानीय तहमध्ये आइतबार साँझसम्म नेकपा माओवादी केन्द्रले टीकापुर र घोडाघोडी नगरपालिका बाहेक बाँकी ११ स्थानीय तहमा प्रमुखका लागि उम्मेदवारको टुंगो लगाएको छ । त्यस्तै, गोदावरी र भजनी नगरपालिका तथा कैलारी र जानकी गाउँपालिका बाहेकमा उपप्रमुखको उम्मेदवारको पनि टुंगो लगाएको छ ।
नेकपा एमालेले कैलारी र चुरे गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा वर्दगोरिया गाउँपालिकामा प्रमुखको उम्मेदवारको टुंगो लगाएको छ ।
फोरम लोकतान्त्रिकले टीकापुर, बर्दगोरिया र घोडाघोडीमा प्रमुख पदमा एकएक जनाको मात्रै आवेदन परेको जनाएको छ ।
धनगढी उपमहानगरपालिकामा माओवादी केन्द्रले प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेसबाट धनगढी उपमहानगरपालिका सभापति नृप वड, कृष्णबहादुर महरासहित सात जना आकांक्षी रहेका छन् ।
नेकपा एमालेबाट उपमहानगर प्रमुखको उम्मेदवार बन्न पूर्व सभासद् नारदमूनी राना, दुर्गाप्रसाद जोशी, रणबहादुर चन्द, सूर्य श्रेष्ठ लगायतको दाबी रहेको छ ।
फोरम लोकतान्त्रिकबाट पृथ्वी राना, शिवराज गुरुङ र प्रेम विसी दावेदार रहेका छन् ।
जिल्लाको बर्दगोरिया गाउँपालिकामा काँग्रेसबाट गणेश शाह, उपेन्द्र बम, बलिराम चौधरी, रामनाथ चौधरी, एटम बम लगायतका १० जनाले प्रमुखका लागि दाबी गरेका छन् । त्यस्तै उपप्रमुख पदका लागि ललिता भट्ट, गायत्री कुश्मी, चन्द्रिका चौधरी र रूपा वादीको दावेदारी रहेको जनाइएको छ ।

यो पनि पढ्नुस् 

नेकपा एमालेबाट प्रमुखमा कर्णबहादुर कुँवर उम्मेदवार बनेका छन् । त्यस्तै, उपप्रमुखमा सावित्री सापकोटा र कृष्णा मल्लको दावेदारी रहेको छ ।
माओवादी केन्द्रबाट अध्यक्षमा गणेशमान गिरी र उपाध्यक्षमा भागरथीदेवी डँगौरालाई उम्मेदवार बनाइएको छ ।
राप्रपाबाट प्रमुखमा मित्रबहादुर घर्तीमगर र उपप्रमुखमा जौमती नेपाली वा घनश्यामदेवी चौधरी उम्मेदवार बन्ने जनाइएको छ । त्यस्तै, फोरम लोकतान्त्रिकबाट परशुराम ठाकुर प्रमुख पदमा उम्मेदार बन्ने भएका छन् ।
जानकी गाउँपालिकामा काँग्रेसबाट गङ्गा चौधरी, सूर्य बटाला, लोकबहादुर चौधरीको दाबी परेको क्षेत्रीय समितिले जनाएको छ ।
एमालेबाट प्रमुखमा फिरुलाल चौधरी, जगत चौधरी, टेकबहादुर बम र केवलसिंह विकको दावेदारी रहेको छ । भने उपप्रमुखमा गङ्गा थापा उम्मेदवार बन्ने भएकी छिन् ।
जानकी गाउँपालिकामा माओवादी केन्द्रबाट फूलाराम थारूको उम्मेदवारी टुंगो लागेको छ । फोरम लोकतान्त्रिकबाट प्रमुखमा परशुराम महतौं, प्रदीप चौधरी र रामप्रसाद चौधरी दावेदार छन् ।
महोन्याल गाउँपालिकामा नेपाली काँग्रेसबाट प्रमुखमा लोकेन्द्र बडुवाल, धु्रव बडुवाल, मान बोहरा र भीम साउँदको दाबी रहेको छ भने उपप्रमुखमा रविना रानामगरको दावेदारी रहेको छ ।
सो गाउँपालिकामा एमालेबाट प्रमुखमा नवलसिंह रावल र वीरेन्द्र रावलको दावेदारी परेको छ भने उपप्रमुखमा पूजादेवी बुढामगर र शान्तिदेवी देवकोटाको नाम सिफारिस भएको छ ।
सो गाउँपालिकामा माओवादी केन्द्रबाट प्रमुख र उपप्रमुखमा क्रमशः: धर्मबहादुर थापा र जानकी भण्डारीको उम्मेदारी तय भएको छ ।
कैलारी गाउँपालिकामा एमालेबाट प्रमुखमा रामकुमार चौधरी र उपप्रमुखमा झुमा चौधरीको उम्मेदवारी तय भएको छ ।
माओवादी केन्द्रबाट प्रमुखमा लाजुराम चौधरीको उम्मेदवारी तय भएको छ भने उपप्रमुखमा लक्ष्मी चौधरी र ग्रिष्मा चौधरीको दाबी परेको छ ।
कैलारी गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट रामशरण चौधरी, परशुराम चौधरी, दीपसमझ चौधरी, कृष्ण चौधरी र राजसमझ चौधरीबीच प्रतिस्पर्धा रहेको छ ।
फोरम लोकतान्त्रिकबाट फूलमति चौधरी उपप्रमुख र प्रमुखमा ओमकार महतो, कलेशु चौधरी र विकास चौधरीको दाबी रहेको जनाइएको छ ।
भजनी नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुखमा दीपकराज जोशी, रामनाथ उपाध्याय, सरिता उप्रेती, रुद्र जोशी र गङ्गा चौधरी लगायत १३ जनाको दावेदारी रहेको छ ।
माओवादी केन्द्रबाट शेरबहादुर चौधरीलाई उम्मेदवार बनाइएको छ । फोरम लोकतान्त्रिकबाट प्रमुखमा करण चौधरी, केवल चौधरी र श्रीपाल चौधरी र उपप्रमुखमा रामकुमारी चौधरी तथा धनवासी चौधरी दावेदार रहेका छन् ।
जोशीपुर गाउँपालिकामा काँग्रेसबाट टीकाराम महतो, प्रेमलाल चौधरी, ठाकुरप्रसाद चौधरी लगायतका ७ जनाको दावेदारी परेको छ ।
माओवादी केन्दले सो गाउँपालिकामा प्रमुखमा भक्ता थारू र उपप्रमुखमा इन्द्र कुँवरलाई उम्मेदवार बनाएको छ । फोरम लोकतान्त्रिकबाट विरुप्रसाद चौधरी र घनश्याम चौधरीको दाबी रहेको छ ।
घोडाघोडी नगरपालिकामा एमालेका तर्फबाट उपप्रमुखमा लक्ष्मी चौधरी, प्रेमकुमारी थापा र रमा आचार्यको दावेदारी परेको छ ।
माओवादी केन्द्रबाट प्रमुखमा लक्ष्मण चौधरी, गौरी जोशी र नैनबहादुर चौधरीको दाबी छ भने फोरम लोकतान्त्रिकबाट चन्द्र चौधरी उम्मेदवार बनेका छन् ।
गोदावरी नगरपालिकामा माओवादी केन्द्रबाट प्रमुखमा गोकर्ण भट्ट र उपप्रमुखमा गीता साउद वा सुमित्रा सोव उम्मेदवार बन्ने भएका छन् ।
चुरे गाउँपालिकामा एमालेबाट प्रमुखमा धनबहादुर रोक्कामगर र उपप्रमुखमा झुमा रावत तय भएका छन् । माओवादी केन्द्रबाट प्रमुख र उपप्रमुखमा क्रमशः: किसनसिंह साउद र दिलादेवी सिजापति उम्मेदवार बनाइएका छन् ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति भक्तबहादुर थापाले आफ्नो गाउँ र नगर कार्यसमितिमा परेका निवेदन सोमबार मात्रै सङ्कलन गर्ने जानकारी दिए । माओवादी केन्द्रले दलबहादुर विष्टलाई उम्मेदार बनाउने जनाएको छ ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार