१३ बैशाख २०८१, बिहीबार

भजनीको एक वडा जातीय विभेद तथा छुवाछुत मुक्त



धनगढी । भजनी नगरपालिका कार्यालय र शिर्जनशिल दलित महिला समूहको संयुक्त आयोजनामा भजनीको एउटा वडालाई जातीय विभेद तथा छुवाछुत मुक्त घोषणा गरिएको छ ।


भजनी नगरपालिकाको वडा नम्बर ८ लाई जातीय विभेद तथा छुवाछुत मुक्त वडा घोषणा गरिएको हो । ‘राष्ट्रवादी लोक रिझ्याई र जातीय अंहकारवादी विचारको अभिवृद्धिको कारण खोजौँ र प्रतिरोध गरौँ’ भन्ने मुल नारासहित ५४ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउन आयोजना गरिएको कार्यक्रममा पूर्व सभासद् हरि श्रीपाइलीले छुवाछुत मुक्त वडा घोषणा गरेका हुन् ।
पूर्व सभासद श्रीपाईलीले जातीय छुवाछुत विभेदका कारण दलित समुदायले अहिले पनि विभिन्न उत्पीडन र यातना सहनु परेको बताए । उनले सामाजिक असुरक्षाका कारण कैयौँ दलितहरु विस्थापित हुनुपर्ने वाध्यता रहेको बताए । उनले दलित समुदायको मानवअधिकार, सामाजिक न्याय, सुरक्षा, समृद्ध र समावेशी नेपाल निर्माणमा राज्य गम्भीर बन्नुपर्ने बताए ।
बिहिबार आयोजित कार्यक्रममा राजनैतिक दल, जनप्रतिनिधी, संचारकर्मी, नागरिक समाज, सरकारी गैरसरकारी निकायका प्रतिनिधी समाजसेवी दलित समुदायका अगुवाहरुको सहभागिता थियो । उनीहरुले घोषण अनुरुप कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा भजनी नगरपालिका वडा नं २ का अध्यक्ष दुर्गा पुन, नेकपाका वडा अध्यक्ष प्र्रदिप मल्ल, सुरज चौधरी, वडा सदस्यहरु कृष्ण धमला, रेखा चौधरी चन्द्रकला विक, जय ढुगाना, जगत विक लगायतकाले मन्तव्य व्यक्त गरे । कार्यक्रम भजनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पकंज चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार