७ बैशाख २०८१, शुक्रबार

तीन हजारका लागि हत्या, अभियोगमा दुई जना पक्राउ (भिडियो सहित)



धनगढी । गोदावरी नगरपालिका–४, खैराना जाने बाटोमा गतशनिबार विहान एक व्यक्तिको हत्या गरी फालेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ परेको छ ।

बैतडीको दरशथ चन्द नगरपालिका–२ का ४५ वर्षीय हर्कबहादुर भण्डारीको हत्या गरेको अभियोगमा कञ्चनपुरको लालझाडी गाउँपालिका–२ चान्देउशिविरमा बस्ने २४ वर्षीय पल्टु भाट (धिरज) र कैलालीको गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय गोविन्द आउजीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार अत्तरियाबाट पक्राउ गरी धनगढीमा सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले प्रारम्भिक अनुसन्धानबाट तीन हजार रुपैयाँ लुट्नका लागि दुई जना मिलेर भण्डारीको हत्या गरेको खुलेको बताए । उनले चैत १ गते दुबै अभियुक्त र मृतक अत्तरियाको एक होटलमा मःमः र रक्सी खाएको बताए । खाई सकेर भण्डारीले होटलको विल तिरेपछि आउजीले आफ्नो घर लग्ने भनेर लालपुर अटोमा चढाएर ल्याएको प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए ।
उनले जंगलको छेउमा अटो रोकेर झरेको र हरैयामा जानेबाटोमा गएर हत्या गरेको बताए । उनले हत्या गरी पैसा लुटिसकेपछि दुर्घटना देखाउनका लागि मुल सडकमा घिसारेर ल्याएर फालेको बताए । उनले भण्डारीलाई भाटले ढुंगा, लठ्ठी र हातखुट्टाले हिर्काएर हत्या गरेको बताए । हत्या गर्नमा आउजीले भाटलाई सहयोग गरेको प्रहरीले जनाएको छ ।
यसअघि पनि भाटले चोरी र बलात्कारको अभियोगमा दुई वर्ष कञ्चनपुर कारागारमा सजाय भोगेर छुटेको प्रहरीले जनाएको छ । भाट र आउजी भिनाजुसाला रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भाटको देखतभुली ४ ढक्कामा रहेको र त्यहाँ भण्डारी, भाट र आउजीको पहिलेदेखि चिनजान भएको थियो । भण्डारी नातेदारकोमा बस्न ढक्का आइरहने भएको हुनाले उनीहरुको चिनजान भएको थियो ।
उनीहरुले चिन जानकै आधारमा अत्तरियामा रक्सी खान बसेको र भण्डारीसंग पैसा छ भन्ने थाहा पाएपछि आउजी र भाटले हत्या गरी पैसा लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको टाउकोमा ढुङगाले प्रहार गरी हत्या गरी लास १४४ फिट मुख्य सडक खण्ड तर्फ तानी लास फालेको जनाएको छ । प्रहरीले छातीमा समेत चोट लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार