६ बैशाख २०८१, बिहीबार

भयरहीत वातावरणमा निष्पक्ष निर्वाचन गराउँछौं– गृहमन्त्री निधी



धनगढी । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीले स्थानीय तह निर्वाचन भयरहीत वातावरणमा निष्पक्ष र स्वच्छ ढङ्गले सम्पन्न हुनेमा ढुक्क हुन आम नागरिकलाई आग्रह गरेका छन् । गृहमन्त्रीले राज्यका सुरक्षा निकायलाई निर्वाचन भयरहीत वातावरणमा सम्पन्न गराउने कार्यभार कुशलतापूर्वक पुरा गर्न निर्देशन पनि दिए ।
धनगढीमा आइतबार आयोजित सुदूरपश्चिमाञ्चल (प्रदेश नम्बर ७) स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री निधीले यसै वर्षको माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र सङ्घीय तहको निर्वाचन गरिसक्नु पर्ने सबैभन्दा प्रमुख कार्य भएकोले आम नागरिकले ढुक्कसंग निर्वाचनमा सहभागी बन्न पाउने वातावरण बनाउन पनि मातहतका सुरक्षा निकायलाई निर्देशन दिए ।
उनले आम मतदाता तथा उम्मेदवारले पूर्ण सुरक्षित वातावरणको अनुभूति गर्नसक्ने ढङ्गले सुरक्षा प्रबन्ध गर्न पनि सुरक्षा अधिकारीहरूलाई निर्देशन दिए । उनले भने– ‘आसन्न स्थानीय निर्वाचनमा सबैले सुरक्षा महसुस गर्नसक्ने गरी सुरक्षा प्रबन्ध गर्नुहोस् ।’
उनले अहिले मुलुकमा संविधान विरोधी र देश विरोधी गतिविधि पनि भइरहेको चर्चा गरे । ‘यस्ता गतिविधिलाई नियन्त्रण गर्नुपर्ने दायित्व पनि थपिएको छ’ उनले मदतान केन्द्र र मतदान स्थलमा कडा सुरक्षा प्रबन्ध गर्न र चुनाव अघि, चुनावको दौरान र चुनावपछि पनि उचित सुरक्षा व्यवस्था गर्न निर्देशन दिए ।
सो अवसरमा गृह मन्त्रालयका गृह प्रवक्ता बालकृष्ण पन्थीले नयाँ परिवेशमा हुन लागेको स्थानीय तहको निर्वाचन भयरहीत वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी आएकोले सफलतापूर्वक पुरा गर्नुपर्ने बताए ।
गोष्ठी उद्घाटन समारोह गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले स्वागत गरेका थिए ।
गोष्ठीमा प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, सुदूरपश्चिम क्षेत्रीय प्रशासक शिशिरकुमार ढुंगाना, सुदूरपश्चिमका नौं वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार