१३ बैशाख २०८१, बिहीबार

अनुमति बिना सञ्चालित क्रसरबारे अझैं निर्णय हुनसकेन



धनगढी । ढुङ्गा, बालुवा, गिट्टी उत्खनन्, संकलन तथा घाटगद्दी समिति, कैलालीले जिल्लामा सञ्चालनमा रहेका क्रसरहरुबारे अझैं ठोस निर्णय लिन सकेको छैन ।


कैलाली जिल्लामा अनुमति बिना क्रसरहरु सञ्चालन रहेको गुनासोपछि समितिले नियन्त्रणका लागि चासो दिए पनि कुनै निर्णायक कदम भने उठाउन सकेको छैन ।
फागुन २६ गते बसेको समितिको बैठकले पुनः कागजात पेस गर्न र अनुगमन गर्ने निर्णय गरेको थियो । यसअघि समितिले माघ २० गते गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोलमा सञ्चालन रहेको घुम्ती क्रसरको कागजात र त्यसपछिको बैठकमा सम्पूर्ण क्रसरको कागजात माग गरेको थियो ।
समितिका संयोजक तथा जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालनमा रहेका १२ वटै क्रसर उद्योगहरुलाई सञ्चालन गर्न पाउने आधार उद्योग दर्ता, भ्याट दर्ता एवं मापदण्ड पुरा भए वा नभएको तथा दररेट आदिको विवरण पेस गर्न पत्र जारी गर्ने निर्णय गरेको थियो ।
साथै, निर्णयमा मापदण्ड पुरा नभएका भए सो मितिभित्र मापदण्ड पुरा गरि अनुगमनका लागि तयार रहन समेत उल्लेख रहेको छ ।
त्यस्तै, बैठकले उद्योगको बैधताको छानविन सम्बन्धमा उद्योग अधिकृतको संयोजकत्वमा उपसमिति गठन गरेको छ । समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, नेपाल प्रहरी, डिभिजन वन कार्यालय धनगढी र पहलमानपुर कैलाली सदस्य रहने उल्लेख छ ।
जिल्ला समन्वय समितिका अनुसार कैलालीमा रहेका १२ वटा क्रसरमध्ये १० वटा क्रसरले विवरणहरु बुझाएको जनाएको छ । जसमध्ये पा“च वटा दर्ता रहेको र पा“च क्रसर सम्बन्धीत आयोजनाको सिफारिसमा सञ्चालनमा रहेको जनाइएको छ ।
प्रक्रियामा रह“दै सम्झौता मिति सकियो
ढुङ्गा, बालुवा, गिट्टी उत्खनन्, संकलन तथा घाटगद्दी समितिले कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा रहेको घुम्ती क्रसरको ठोस निर्णय लिन सकेको छैन । समितिले कागजात माग गरिरहेको दुई महिना बढी भइसकेको छ । समितिको छानविनकै क्रममा रहेको सो घुम्ती क्रसरको सम्झौता मिति भने सकिसकेको छ । मोहना पुलदेखि अत्तरियासम्मको छ लेन सडक आयोजनाले फागुन मसान्तभित्र आवश्यक सामग्री बनाउन घुम्ती क्रसर गोदावरी खोलामा राख्न दिन भनी नगरपालिकालाई अनुरोध पत्र पठाएको थियो ।
नगरपालिकासंग कम्पनीले कुनै पनि जानकारी नदिनु, सामुदायिक वन र नदीको छेउमै घुम्ती क्रसर राख्नाले क्रसरले प्रक्रिया मिचेको समितिको ठहर थियो । माघ २० गते अनुमतिसहितको कागजात पेश गर्न पत्राचार गरे पनि कम्पनीले कागजपत्र नबुझाएपछि माघ २७ गते प्रहरी लगाएर बन्द गराइएको थियो । समितिले अनुगमन गर्ने र प्रक्रिया पु¥याएपछि सञ्चालनमा ल्याउने प्रतिक्रिया दिइरहेको छ ।
कम्पनीले समितिलाई सामुदायिक वनसंगको सम्झौतापत्र, नगरपालिकाको पत्र, छ लेन सडक आयोजनाले आवश्यक सहयोग गरिदिन भनी पठाएको पत्र लगायतका कागजपत्र बुझाएको थियो । समितिलाई बुझाएको विवरणमा वातावरणीय प्रभाव मूल्यांकन, क्रसर सञ्चालन गर्न पाउने भन्ने लगायतका कागजपत्र भने थिएन् । नगरपालिकाले कार्तिक १२ गते लेखेको पत्रमा स्काभेटर र भ्याकुलोडर प्रयोग गर्न पाउने र फागुन महिनासम्म २५ हजार घनमिटर ग्राभेलमात्र उत्खनन् गर्न पाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार