१३ बैशाख २०८१, बिहीबार

निर्मला हत्याकाण्ड : प्रमाण नष्ट गर्ने बर्खास्त एसपि अदालतमा हाजिर



कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् ।


यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । ‘दुई जनामध्ये विष्ट मात्र अदालतमा आउनु भएको छ,’ अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले भने ।
निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि विष्टलाई अदालतले हाजिर हुन सूचना जारी गरेको थियो । उनका अनुसार विष्टको बयान लिने तयारी भएको छ ।
अदालतको आदेशपछि कञ्चनपुरका तत्कालीन प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेठी र तत्कालीन प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई ९÷९ लाख तथा प्रहरी निरिक्षक जगदिस भट्ट ४ लाख धरौटी बुझाएर रिहा भएका थिए । यस्तै निलम्बित प्रहरी नायव निरिक्षकहरु हरिसिंह धामीलाई साढे ३ लाख, रामसिंह धामी ३ लाख तथा प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए।सो दिन अदालतमा ६ जना मात्रै उपस्थित भएपछि उनीहरुको मात्रै बयान लिन थालिएको थियो। तत्कालीन एसपी विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसीलाई भने २१ दिनभित्र बयानका लागि उपस्थित हुन अदालतले आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार