१२ बैशाख २०८१, बुधबार

टीकापुर घटनालाई राजनीतिक रुपमा सम्बोधन गर: भट्टराई



टीकापुर । नयाँशक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आठ जना प्रहरी र एक बालकको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक रुपमा नै सम्बोधन गर्न सरकारसंग आग्रह गरेका छन् ।


मुलुकमा विकसित घटना क्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मलेनमा नयाँशक्ति पार्टी संयोजक डाक्टर भट्टराईले विगतमा भएका संघर्षहरुलाई राजनीतिक विद्रोहका रूपमा हेरिए पनि टीकापुर घटनालाई अपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण भएको बताए ।
उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा उग्रवामपन्थी ध्वंसात्मक चिन्तनबाट ग्रसित हुनु र शान्ति, प्रगति, सुशासन, विकास, समृद्धि र मानवीय स्वतन्त्रताको चाहना विपरीत भएको भन्दै उनले सरकार र विप्लवलाई युगीन चेतनामा आधारित सही क्रान्तिकारी विचार र कार्यदिशा अवलम्बन गर्न आग्रह गरे ।
उनले आफ्नो पार्टी आमाको नामबाट सन्तानले निःशर्त नागरिकता पाउने प्रावधानको पक्षमा रहेको उल्लेख गर्दै अंश, वंश, वैवाहिक सम्बन्ध, पारपाचुके, वैदेशिक वैवाहिक जीवन र अङ्गीकृत नागरिकतालगायत विषयमा महिला र पुरुषको समान अधिकार रहेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउने उद्देश्यले सरकारले आयोजना गरेको लगानी सम्मेलनको स्वागत गर्दै लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकारलाई सुझाव दिए । उनले भने– ऐन कानूनको तर्जुमा, प्रक्रियागत सरलता, लगानी सुरक्षा तथा प्रत्याभूतिका लागि बिप्पा सम्झौता वैदेशिक लगानीको अनिवार्य शर्त हो । त्यसैले लगानी सम्मेलनलाई विगतमा झैं औपचारिकतामा मात्र सीमित गर्नु हुदैन ।
नयाँ शक्ति पार्टीले सोमबार सार्वजनिक गरेको नौं बुदे धारणापत्रमा टीकापुर घटनाबारे भनिएको छ–वर्तमान सरकारले एकातिर विखण्डनकारी तत्वलाई अतिरञ्जित तवरले गौरवीकरण गर्न खोजेको छ भने अर्कोतर्फ देशको अखण्डता र सार्वभौमसत्ताको तहत प्रदेश सीमांकनबारे फरक मत राख्ने टिकापुर घटनाका विद्रोहीहरुलाई हदैसम्मको दण्ड गर्ने निर्णय दुर्भाग्यपूर्ण छ ।

नयाँ शक्ति पार्टीले सोमबार सार्वजनिक गरेको नौं बुँदे धारणाको ३ नम्बर बुँदामा टीकापुर घटनाको बारेमा उल्लेख छ ।
बुँदा नं. ३ : वर्तमान सरकारले एकातिर विखण्डनकारी तत्वलाई अतिरञ्जित तवरले गौरवीकरण गर्न खोजेको छ भने अर्कोतर्फ देशको अखण्डता र सार्वभौमसत्ताको तहत प्रदेश सीमांकनबारे फरक मत राख्ने टिकापुर घटनाका विद्रोहीहरुलाई हदैसम्मको दण्ड गर्ने निर्णय दुर्भाग्यपूर्ण छ । टिकापुर घटनामा केही शिशु र सुरक्षाकर्मीहरुको ज्यान जानु अत्यन्त दुःखद् कुरा हुँदाहुँदै पनि यो मूलतः प्रदेश रचनाको मोडेलमा विमति राख्ने उत्पीडित थारु समुदायको राजनीतिक विद्रोह थियो । रेशम चौधरी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुले त्यो विद्रोह जनअनुमोदित भएको पुष्टि हुन्छ । विगत दशकमा देशमा अनेक राजनीतिक विद्रोह, हिंसा र क्रान्तिहरु भए । अरु घटनालाई राजनीतिक विद्रोहका रुपमा हेरिनु तर टिकापुर विद्रोहलाई मात्र शुद्ध आपराधिक घटनाका रुपमा व्यवहार गर्नु बिल्कुलै असंगत र अन्यायपूर्ण हो । अतः टिकापुर विद्रोहलाई राजनीतिक रुपले नै सम्बोधन गरिनु पर्दछ र माननीय रेशम चौधरीलगायत सबै अबिलम्ब रिहा हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार