सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिक

३५ लाख ६९ हजार आठ सय ७१ रुपैयाँ आम्दानी

प्रकाशित मिति :

धनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिक गरेको छ ।

संघले सोमबार संघको सभाहल धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी यसपालिको महोत्सवमा ३५ लाख ६९ हजार आठ सय ७१ रुपैयाँ आम्दानी भएको जनाएको हो । संघका अध्यक्ष पुष्पराज कुँवरले एक करोड २३ लाख ६८ हजार नौ सय पाँच रुपैयाँ आम्दानी भएकोमा ८७ लाख ९९ हजार ३४ रुपैयाँ खर्च भएको आयव्यय सार्वजनिक गरे ।
फाराम विक्रीबाट १६ हजार, स्टल भाडाबाट २९ लाख ६४ हजार, टिकट विक्रीबाट ४५ लाख १२ हजार ६ सय ५५, पार्किङबाट २० हजार दुई सय ५०, प्रायोजकहरुबाट २४ लाख ८४ हजार, हेलिकप्टरद्वारा सिटी टुरबाट एक लाख ७२ हजार र रमाइलो मेलाबाट २२ लाख रुपैयाँ आम्दानी भएको संघले जनाएको छ ।
संघले स्टल निर्माणमा ८६ लाख नौ सय ७५, कर्मचारीको तलब र खाना खर्चमा दुई लाख ५४ हजार पाँच सय, मञ्च श्रृंगारमा एक लाख १७ हजार तीन सय २४, राष्ट्रिय कलाकार ल्याउन १६ लाख तीस हजार, स्थानीय कलाकार ल्याउन आठ लाख २७ हजार पाँच सय, बाद्यबादनमा एक लाख २७ हजार दुई सय ७०, साउण्ड सिस्टममा दुई लाख ३० हजार, हवाई टिकटमा एक लाख ४७ हजार चार सय, सुरक्षा व्यवस्थापनमा छ लाख २१ हजार तीन सय २५, सचिवालय व्यवस्थापनमा ८४ हजार एक सय ९०, फ्ल्याक्स व्यानरमा चार लाख २६ हजार दुई सय ४२, ईन्धन (डिजल र जेनेरेटर) मा ९७ हजार दुई ५५, मायाको चिनो र व्याजमा एक लाख २३ हजार, हेलिकप्टर भाडामा तीन लाख ६० हजार, मसलन्द खर्च एक लाख ३३ हजार नौ सय ७२, क्षतिपूर्ति खेती (मैदान) मा २७ हजार, अतिथि सत्कारमा चार लाख ९८ हजार पाँच सय १४, विजुलीको ट्रान्सफरमर व्यवस्थापनमा एक लाख ५४ हजार छ सय, बैंक कमिसन ५३०, टिकट छपाईमा एक लाख ५५ हजार, कृषि प्रदर्शनी र पुरस्कारमा दुई लाख ९५ हजार १७, रेडक्रसलाई टिकट विक्री कमिसन चार लाख २६ हजार पाँच सय ३३, खानेपानी व्यवस्थापनमा एक लाख ३० हजार छ सय सात, महोत्सव स्थल सरसफाईमा एक लाख ३६ हजार तीन सय २०, टेलिफोनमा २० हजार दुई सय ६०, निर्मला बलात्कारपछि हत्या विरुद्धको आन्दोलनमा घाइते अर्जुन भण्डारालाई ह्वील चियर अनुदानमा १७ हजार, स्टलको रकम फिर्ता २६ हजार र विज्ञापनमा आठ लाख ७० हजार सात सय रुपैयाँ खर्च गरेको छ ।
संघका अध्यक्ष कुँवरले मौषमको प्रतिकुल हुँदा हुँदै पनि यसपालीको महोत्सव अन्य वर्षकै तुलनामा सफल भएको बताए । उनले अघिल्ला दिनमा पनि संघले महोत्सवबाट सोही हाराहारीमा आम्दानी गरेको बताए ।
महोत्सवबाट सामग्र रुपमा संघलाई फाइदा भएपनि हेलिकप्टरद्वारा सिटी टुरमा भने नोक्सानी भएको छ । संघका अनुसार एक लाख ८८ हजार रुपैयाँ नोक्सान भएको छ । संघका बरिष्ठ उपाध्यक्ष पष्करराज ओझाले माग भएपनि मौषम प्रतिकुल हुँदा उडान भर्न नसकेको हुनाले नोक्सान हुन पुगेको बताए । निर्वाचनपछि छोटो अवधिमा महोत्सव आयोजना गर्न परेको र मौषम प्रतिकुल भएपनि महोत्सवबाट अपेक्षित उपलब्धी हासिल भएको उनले बताए ।
संघले आउँदो वर्षको महोत्सवलाई सफल बनाउनका लागि अहिलेदेखि नै सम्भाव्यता अध्ययन तथा सुझाव समिति गठन गरेर काम थालेको संघका अध्यक्ष कुँवरले बताए । संघले २०६४ देखि हरेक वर्ष मंसिर २२ गतेदेखि २० दिन महोत्सव आयोजना गर्दै आएको छ । यस वर्ष संघका पदाधिकारीको निर्वाचनले गर्दा माघ २१ गतेदेखि फागुन ५ गतेसम्म महोत्सव आयोजना गरिएको थियो ।

    Comment Here!