७ बैशाख २०८१, शुक्रबार

बर्दियामा थरुहट भेला हुँदै



धनगढी । थरुहट प्रदेशको माग गर्दै आएको थरुहट/थारुवान संघर्ष समितिले बर्दियामा राष्ट्रिय भेलाको तयारी थालेको छ ।


संघर्ष समिति र थारु कल्याणकारिणी सभा (थाकस) ले चैत १६ गते बर्दियामा हुने थरुहट आन्दोलन, नेतृत्व र अबको बाटो विषयक राष्ट्रिय भेलाको तयारी थालेको जनाएको छ ।
२०७२ भदौ ७ गते टीकापुर घटना घटेपछि उठ्न नसेकेको थरुहट आन्दोलनबारे रणनैतिक योजना तय गर्नेबारे छलफल हुने थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले जनाए ।
फागुन २२ गते जिल्ला अदालत कैलालीको फैससा आएपछि जेल सजाय भुक्तान गरेका थारु नेता, अगुवासहितको उपस्थितिमा राष्ट्रिय भेला हुने उनले बताए ।
भेलामा टीकापुर मुद्दा र अदालतको फैसला, थरुहट आन्दोलनको अवस्था, मोर्चाबन्दी, नेतृत्व एवं भावी संघर्षका कार्यक्रमहरू र कारागार अनुभवबारे छलफल हुने थरुहट नेता लक्ष्मण थारुले बताए ।
उनले केही दिनभित्रै टीकापुर घटनासम्बन्धी मुद्दा पुनरावेदन गर्ने बताए । जिल्ला अदालत कैलालीको फैसलाको सम्मान गर्दै न्याय प्राप्तिको लागि उच्च अदालत जाने बताए ।
राजनीतिक अधिकार प्राप्तिको माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी तथा सरकार र संघर्ष समितिबीच २०६५ सालमा भएको समझौता कार्यान्वयनका लागि दबाब सिर्जना गरी राख्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार