८ बैशाख २०८१, शनिबार

सम्पादकीय: मुख्यमन्त्री कप व्यवस्थापनको सवाल



शुरुदेखि नै व्यवस्थापकीय कमजोरीको चर्चाबीच शुक्रबार धनगढीमा औपचारिक रुपमा उद्घाटन भएको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताप्रतिका तिखा टिप्पणीहरू अझैं पनि जारी छन् । प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा नै मुख्यमन्त्री कप आयोजनाको उल्लेख गरेको थियो । प्रदेशमा यस्ता कार्यक्रम÷प्रतियोगिताहरू सञ्चालन गरिनु आवश्यक पनि हुन्छ । तर, सरकार आफैं आयोजक बन्नुको साटो राष्ट्रिय खेलकुद परिषद् तथा खेलकुद क्षेत्रसंग सम्बन्धित संघसंस्थासंगको समन्वयमा आयोजना गरिएको भए कम्तिमा व्यवस्थापन पक्ष अहिलेको भन्दा प्रभावकारी हुन्थ्यो । यति ठूलो आयोजना गर्नका लागि सोही अनुरुपको तयारी तथा व्यवस्थापन हुनु आवश्यक हुन्थ्यो । तर, खेलाडी छनोट, खेल छनोट, विभिन्न समिति÷उपसमितिहरू गठन, परिचालन, प्रचारप्रसार आदि हरेक पक्ष कमजोर रहेको देखियो । महिला क्रिकेटका केही खेलमा प्रदर्शन भएको खेलले खेलाडीको स्तर सहजै अनुमान गर्न सकिन्छ । अन्तर प्रदेश मुख्यमन्त्री कप भनेर नामाकरण गरिसकेपछि खेलाडी तथा टिमको छनोटमा स्पष्ट र ठोस आधार बनाइनु पर्दथ्यो । त्यसका लागि खेलाडी÷टीम छनोट खेलहरु सञ्चालन गरिनु पर्दथ्यो । तर, यो मुख्यमन्त्री कपमा खेलाडी छनोट क्याम्प वा प्रतियोगिता भएको पाइएन ।

त्यस्तै, प्रतियोगितामा समावेश गरिने खेलबारे पनि कुनै ठोस योजना रहेको पाइएन । अन्तर प्रदेश मुख्यमन्त्री कप नामाकरण भएपछि एथलेटिक्स, मार्सल आर्टका खेलहरु पनि समावेश गरिनु पर्दथ्यो । भरखरै धनगढीमा आइसीसीद्वारा मान्यताप्राप्त क्रिकेट लिग तथा नेपालका ए डिभिजन फुटवल क्लवहरू सहभागी भएको फुटवल प्रतियोगिता सम्पन्न भइसकेको सन्दर्भमा मुख्यमन्त्री कपमा अरु खेलहरु समावेश गरिएको भए औचित्यपूर्ण हुन्थ्यो होला । तर, प्रथम मुख्यमन्त्री कपमा किन यी चार वटा मात्र खेल समावेश गरिए ?, किन एथलेटिक्स सहितका अरु खेलहरु समावेश गरिएनन् ? भन्ने स्पष्ट जवाफ दिने जा“गर पनि देखाइएन ।

मुख्यमन्त्री कप आयोेजनाको चर्चादेखि नै सञ्चार माध्यम, सामाजिक सञ्जाल, खेलकुद क्षेत्रमा संलग्न व्यक्तिहरू तथा खेलकुद क्षेत्रसंग सम्बन्धित संघसंस्थाहरूबाट आइरहेका प्रतिक्रियाहरू हेर्ने हो भने प्रथम मुख्यमन्त्री कपले उत्साह जगाउन नसकेको देखिन्छ । समितिहरुको गठन अपारदर्शी तथा मनोगत थियो र छ भन्ने टिप्पणीहरुलाई गलत सावित गर्ने कुनै चासो दिइएको देखिन्न । प्रदेश सरकारले दुई करोड रुपैया बढी खर्च गर्ने गरी आयोजना गरेको यो प्रतियोगिताले के उपलब्धी दिन्छ ? भन्ने यसको समापनपछि नै स्पष्ट हुने छ । तर, अहिलेसम्म कुनै पनि खेलमा दर्शकको नगण्य उपस्थिति देखिनु र यति तामझामका साथ गरिएको उद्घाटन समारोहमा पनि दर्शक आकर्षित नहुनुले यत्रो ठूलो आयोजनाले आम जनतामा कस्तो उत्साह जगाउन सक्यो ? भन्ने संकेत गरेको छ ।

प्रथम मुख्यमन्त्री कपको तयारीदेखि सञ्चालनसम्म देखिएका व्यवस्थापकीय कमजोरीबारेको टिप्पणीलाई आलोचनाका रुपमा मनन् गरियो भने बिडम्बना मात्रै हुने छ । कुशल व्यवस्थापन, खर्चको पारदर्शीता, खेलकुदको क्षेत्रमा नया आयाम थप्ने खालको प्रतियोगिता जस्ता पक्षमा ध्यान दिनु आवश्यक छ । त्यसैले, अहिले देखिएका कमीकमजोरीलाई पाठका रुपमा ग्रहण गरेर आगामी दिनमा सुधारका लागि तत्पर हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार