१५ चैत्र २०८०, बिहीबार

प्रथम मुख्यमन्त्री कप प्रतियोगिता आजदेखि



धनगढी । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजनामा आजदेखि धनगढीमा प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता आगामी चैत ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन भने चैत्र १ गते हुने छ । फुटवल तथा क्रिकेट खेलहरू भने आजदेखि शुरु हुँदैछन् । सामाजिक विकास मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी सहितका विषयमा जानकारी दिइयो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले मुख्यमन्त्री कपको उद्घाटन समारोहमा सात वटै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीहरूको उपस्थिति हुने बताए । उनले भने– सबै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीलाई आमन्त्रण गरेका छौं ।
प्रथम मुख्यमन्त्री कपमा हरेक प्रदेशबाट ९२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा छ सय ४४ जना खेलागी भाग लिदैछन् । सचिव हमालका अनुसार प्रतियोगितामा सहभागी बन्नका लागि प्रत्येक प्रदेशबाट खेलाडी तथा टिम आउने क्रम जारी रहेको छ ।
प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा पुरुष फुटवल, महिला तथा पुरुष भलिवल, पुरुष तथा महिला क्रिकेट तथा पुरुष र महिला ब्याडमिन्टन खेल समावेश गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले प्रथम मुख्यमन्त्री कपको आयोजनाका लागि दुई करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
फूटबल र क्रिकेटका खेलहरू लिग कम नकआउट प्रणालीबाट सञ्चालन गरिने मन्त्रालयले बताएको छ ।
आयोजकका अनुसार सबैभन्दा बढी स्वर्ण पदकका सहित प्रथम हुने प्रदेशलाई १५ लाख रुपैयाँ, द्वितीय हुने प्रदेशलाई आठ लाख तथा तृतीय हुने प्रदेशलाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, स्वर्ण पदक विजेताले जनही दश हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
यसैबीच, आजदेखि शुरु हुने फुटबल खेलको खेलतालिका सार्वजनिक गरिएको छ । धनगढी रंगशालामा हुने फुटबलतर्फ आज बुधबारको पहिलो खेलमा प्रदेश एक र प्रदेश पाँचबीच खेल हुने छ ।
पत्रकार सम्मेलनमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पहिलो पटक सुदूरपश्चिम प्रदेशमा आयोजना भएको प्रथम मुख्यमन्त्री कपले राष्ट्रिय स्तरमा प्रदेशको पहिचान बढाउने बताए । मन्त्री सेवेदीले भने– हामी सुदूरपश्चिमवासी हरेक क्षेत्रमा पछाडि पारिएका छौं, तर खेलकुदको माध्यमबाट पनि प्रदेशलाई अगाडि बढाउनु पर्छ भनेर हामी त्यतातिर केन्द्रीत भएका छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार