६ बैशाख २०८१, बिहीबार

सांसद महिलाहरूको गुनासो– सञ्चार माध्यम हाम्रा सवालप्रति उदासिन



धनगढी । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद महिलाहरूले सञ्चार माध्यमहरूले आफ्ना सवालहरूलाई प्राथमिकता नदिएको गुनासो दोहो¥याएका छन् । सांसद महिलाहरूले सञ्चार माध्यमहरूले सांसद पुरुषहरूको तुलनामा आफ्ना सवालप्रति उदासिनता देखाइरहेको अनुभव सुनाए ।मंगलबार धनगढीमा आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सांसद महिलाहरूले सञ्चार माध्यम महिलामैत्री हुन नसकेको गुनासो गरे । कार्यक्रमा प्रतिनिधि सभाका उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले सञ्चार माध्यमहरूलाई व्यक्तिभन्दा पनि सवाल वा विषयलाई प्राथमिकता दिन आग्रह गरिन् । उनले सञ्चार माध्यम तथा पत्रकारिता क्षेत्रमा महिलाको प्रतिनिधित्व बृद्धिमा समेत ध्यान दिन आग्रह गरिन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले लोकतन्त्र र समावेशीताको प्रवद्र्धनका लागि मिडियाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे । प्रदेश सभामुख थापाले सञ्चार माध्यमहरूले महिलामैत्री बनाउन आग्रह गरे ।
सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीले सञ्चार माध्यमले महिलाका सवालहरूलाई प्राथमिकता दिन आग्रह गरिन् ।
कार्यक्रममा कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले संघीयतालाई पूर्ण कार्यान्वयन गर्न सञ्चार माध्यमले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
सो अवसरमा सुदूरपश्चिमका पर्यटन मन्त्री माया भट्ट र कृषि मन्त्री विनिता चौधरीले सुदूरपश्चिम प्रदेशका मिडियाहरूलाई सांसद महिलाहरूका विचार तथा उनीहरूले उठाएका सवालमा ध्यान दिन नसकेको बताए ।
सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले सञ्चार माध्यमले महिला लगायतका सीमान्तकृत तथा पछाडि पारिएका वर्ग समुदायका सवालमा बढी ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा बेलायतका पूर्व सांसद एनीले सांसद महिलाप्रतिको सञ्चार माध्यमको हेराई विकसित देशमा पनि समान रहेको भन्दै आफैं सक्रिय भएर सञ्चार माध्यमलाई ध्यानाकर्षित गर्न सकिने बताइन् ।
कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र बिष्ट तथा सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले कार्यपत्र प्रस्तुत गर्दै सञ्चार माध्यमहरूले समयसापेक्ष रूपमा आफ्नो शैली, विषयवस्तु तथा मान्यतामा परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको चर्चा गरे ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुनबहादुर शाह, संसदीय मामिला पत्रकार समाज सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष भरत शाहलगायतले स्थानीय सञ्चार माध्यममा लिंग, वर्ग, समुदायका विषय तथा सवालमा आधारित रहेर समाचार सामग्री सम्प्रेषणको अवस्थामा सुधार आइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार