६ बैशाख २०८१, बिहीबार

प्रथम मुख्यमन्त्री कप को तयारी पुरा



धनगढी । फागुन २९ गते शुरु हुने प्रथम मुख्य मन्त्रीकपको तयारी पुरा भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन गइरहेको अन्तर प्रदेश खेलकूद प्रतियोगिता अन्तरगत खेलाइने खेलहरुको लागि पूर्वाधार निर्माण, अतिथि सत्कार लगायतको सम्पूर्ण तयारी पुरा भएको हो ।

प्रतियोगितामा ७ वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा क्रिकेट, भलिबल, फुटबल र ब्याटमिन्टन गरी चार वटा खेल खेलाइने छ । खेलकूद प्रतियोगिता आयोजनाका लागि बनाइएका उपसमितिहरुले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । प्रतियोगितामा फुटबल र क्रिकेट २९ गते शुरु हुने आयोजकले जनाएको छ ।
मंगलबार अन्य प्रदेशका फुटबल र क्रिकेट खेलाडीहरु धनगढी पुगिसक्ने छन् । क्रिकेटको पुरुष खेल धनगढीको फाप्ला मैदानमा खेलाइने छ भने क्रिकेटको महिला खेल संघीय ईकाईको प्रहरीको खेल मैदानमा हुने खेल संयोजक शिवराज भट्टले जानकारी दिए ।
फुटवल खेल भने धनगढी रंगशालामा खेलाइने तेजेन्द्र थापाले बताए । फुटबल प्रतियोगितामा पुरुष खेल मात्रै हुने छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले चैत १ गते गर्ने छन् ।
भलिबल प्रतियोगिताका लागि कोर्ट बनाउने काम अन्तिम चरणमा छ । पुरुष भलिवल प्रतियोगिताका लागि कोर्ट तयारी अवस्थामै रहे पनि महिला भलिबलका लागि नयाँ कोर्ट बनाइएको आयोजकले जनाएको छ । ब्याटमिन्टनकका लागि कोर्ट तयारी अवस्थामै रहेपनि त्यसमा आवश्यक मर्मत गर्ने काम सम्पन्न गरिएको छ ।
फुटवल प्रतियोगिता औपचारिक उद्घाटन हुनु भन्दा दुई दिन अगावै शुरु हुने छ । प्रतियोगित अन्तर्गत १३ वटा खेलहरु हुने भएकोले सबै खेल धनगढी रंगशालामा गर्न सम्भव नभएपछि धनगढी उपमहानगरपालिकाको वडा नम्बर १४ फूलबारीको मैदान समेत खेल विज्ञ शिवराज भट्टले जानकारी दिए ।


फुटबल प्रतियोगिता भने पुरुष तर्फ मात्रै हुने छ । अन्य खेलहरुमा महिला र पुरुष दुबै टीमले प्रतिष्पर्धा गर्ने छन् । क्रिकेट प्रतियोगिताका लागि आवश्यक सामग्रीहरु ढुवानी भइरहेको छ भने मैदान तयारी समेत अन्तिम अवस्था पुगेको छ । क्रिकेट प्रतियोगिता सञ्चालन उप समितिका सह संयोजक बाबुराजा श्रेष्ठले सुदूरपश्चिम प्रदेशको दुबै टीमलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिने काम भइरहेको बताए ।
सह संयोजक श्रेष्ठले खेलका लागि नेपाल क्रिकेट संघबाट मानयता पाएका अम्पायरहरु समेत रहेको प्राविधिक समिति गठन गरिएको बताए । प्रतियोगिताको औपचारिक उद्घाटनका लागि समारोह स्थल धनगढी रंगशालामा तयारी भइरहेको छ ।
प्रतियोगिताको औपचारीक उद्घाटनको लागि मञ्च व्यवस्थापन भैसकेको अतिथि सत्कार संयोजक दिपक सिंहले बताए । क्रिकेट समेत औपचारिक उद्घाटन भन्दा दुई दिन पहिले शुरु हुने छ । प्रतियोगिताको उद्घाटन समारोहमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको उपस्थिति रहने आयोजक सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार