१६ चैत्र २०८०, शुक्रबार

भारतमा ११ अप्रिलदेखि आम चुनाव, ७ चरणमा मतदान



भारत। भारतको आम चुनावको मतदान सात चरणमा हुने भएको छ । ११ अप्रिलबाट सुरु हुने मतदान १९ मेमा सकिनेछ र २३ मे बाट मत गणना सुरु हुनेछ ।

भारतीय चुनाव आयोगले आइतबार पत्रकार सम्मेलन गरी आच चुनावको तालिका सार्वजनिक गरेको हो ।

पहिलो चरण :  ११ अप्रिल : ९१ सिट

दोस्रो चरण : १८ अप्रिल : ९७ सिट

तेस्रो चरण : २३ अप्रिल : ११५ सिट

चौथो चरण : २८ अप्रिल : ७१ सिट

पाँचौं चरण : ६ मे : ५१ सिट

छैटौं चरण : १२ मे : ५९ सिट

र, सातौं चरण : १९ मे : ५९ सिट

चुनाव आयोगका अनुसार तेलंगना, तामिलनाडू, झारखण्ड, अन्डमान एण्ड निकोबार र दादरमा एकै चरणमा चुनाव हुनेछ ।

कर्नाटका, मनिपुर, राजस्थान र त्रिपुरामा दुई चरणमा हुनेछ भने आसम र छत्तिसगढ राज्यको चुनाव तीन चरणमा सकिनेछ । यसैगरी झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र र ओडिसाको चार चरणमा तथा झारखण्डमा पाँच चरणको चुनाव हुनेछ भने विहार, उत्तर प्रदेश र पश्चिम बंगाल प्रदेशमा सातै चरणको चुनाव पर्नेछ ।

९० करोडले गर्नेछन् मतदान

आयोगका अनुसार १७ औं लोकसभा गठनका लागि हुने चुनावमा ९० करोड मानिसले मतदान गर्नेछन् । उनीहरु मध्ये ८ करोड ३४ लाख नयाँ मतदाता छन् । १८ देखि १९ वर्षका नयाँ मतदाता मात्र डेढ करोड रहेका छन् ।

१० लाख मतदान केन्द्र हुनेछन् भने हरेक मतदान केन्द्रमा भोटर भेरिफिकेसन पेपर अडिट ट्रोल (भीभीप्याट) हुने मुख्य चुनाव आयुक्त सुनिल अरोडाले बताए ।

आचारसंहिता लागू

निर्वाचनको मिति घोषणा भएसँगै आइतबारबाटै निर्वाचन आचारसंहिता लागू भएको छ । कुनै पनि मानिसले आचारसंहिता उल्लघनको जानकारी एन्ड्रोएड एपमार्फत दिन सक्नेछन् र उजुरीकर्ताको पहिचान गोप्य राख्न पनि सकिनेछ ।

इलेक्ट्रोनिक भोट्रिङ मेसिनको जीपीएसबाट ट्रक पनि गरिनेछ ।

भारतीय संविधानअनुसार लोकसभाको सिटको अधिकतम संख्या ५५२ हुनसक्छ । अहिलेको सिट संख्या ५४५ छ ।

जसमध्ये सबै राज्य र केन्द्र शासित प्रदेशमा ५४३ सिटका लागि आम चुनाव हुनेछ । यसका साथै यदि राष्ट्रपतिलाई एंग्लो इण्डियन समुदायका मानिसहरुको प्रतिनिधित्व पर्याप्त छैन भन्ने लागेमा दुई जना मनोनित गर्न सक्नेछन् ।

कुल सिटमध्ये १३१ आरक्षित सिट हो, जसमा अनुसूचित जातिका लागि ८४ र अनुसूचित जनजातिका लागि ४७ सिट आरक्षित छ । कुनै पनि पार्टीलाई बहुमत प्राप्त गर्न २७२ सिट जित्नुपर्छ । विपक्षी दलको नेता हुन कम्तीमा ५५ सिट चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार