११ बैशाख २०८१, मंगलवार

खाद्य संस्थानको गाेदाममा निजी अस्पताल



धनगढी । नेपाल खाद्य संस्थानको सेती अञ्चल कार्यालयको जग्गामा निजी अस्पताल सञ्चालनमा आउन थालेका छन् । सुदूरपश्चिम प्रदेशको बाजुरा, बैतडी, अछाम, बझाङ लगायतका सात पहाडी जिल्लाका लागि खाद्य संस्थानका चामल भण्डारण गोदाम भाडामा दिइएको छ ।

धनगढीमा रहेको खाद्य संस्थानको गोदाम मासिक ६५ हजार रुपैयाँमा सारथी अस्पताल प्रालिलाई भाडामा दिएको जनाइएको छ । वेदप्रकाश जोशीसहित पाँच जनाको लगानीमा सो अस्पताल सञ्चालनमा आउन लागेको छ । १५ शैय्यासहितको सो अस्पतालमा थारु समुदायमा देखिने सिकलसेलको उपचारसहितको कृत्रिम गर्भाधान, क्यान्सर लगायतको विशेष सेवा सुविधा रहने अस्पतालका प्रबन्ध निर्देशक जोशीले बताए । अस्पतालमा पाँच करोड रुपैयाँ बढी लगानी लाग्ने उनले बताए ।
प्रबन्ध निर्देशक जोशीले अस्पतालमा इर्मेजेन्सी कक्ष, रिसेप्सन, प्रयोगशाला लगायतको तयारी भइसकेको र अप्रेसन कक्ष, एक्सरे मेसिन लगायतका आवश्यक सामग्रीहरु ल्याउने काम भइरहेको बताए । अस्पतालमा आवश्यक कक्षका लागि गोदाममा ‘पार्टेसन’ गरिएका छन् ।
उनले खाद्य संस्थानसंग अस्पताल सञ्चालनका लागि सम्झौता भएको बताए । ‘केन्द्रबाट सहमति गरेर नै संस्थानको अञ्चल कार्यालयले टेण्डर आह्वान गरेको थियो’ उनले भने– टेण्डर प्रक्रियाबाट नै सो सम्झौता भएको हो ।
खाद्य संस्थानका सेती अञ्चल प्रमुख प्रेमसिंह भण्डारीले नियम अनुसार नै जग्गा भाडामा दिएको बताए । ‘हामीले केन्द्रको स्विकृति लिएर टेण्डर आह्वान गरेका थियौं’ उनले भने आवश्यकता भन्दा बढी भएका गोदामहरु विगतदेखि नै भाडामा दिइरहेको बताए ।
खाद्य संस्थानले धनगढीको मोहनपुरस्थित चार वटा गोदाममा ४० हजार क्विन्टल चामल भण्डारण गरिरहेको छ । संस्थानले मुख्य बजारमा रहेको गोदाम भने सबै भाडामा दिएको छ ।
नेपाल खाद्य संस्थानका सूचना अधिकारी शंकर सापकोटाले गोदामलाई भाडामा दिन सहमति भए पनि अस्पताल सञ्चालनको प्रयोजनका लागि नदिइएको बताए । ‘गोदाम प्रयोजनका लागि दिइएको हो । अस्पताल सञ्चालनका लागि होईन’ उनले भने– त्यहाँ अस्पताल सञ्चालन भइरहेको बारे हामीलाई जानकारी छैन । उनले संस्थानले आफुलाई आवश्यक परेको बेला प्रयोग गर्ने गरि गोदाम भाडामा दिने गरेको बताए ।

सरकारी अस्पतालसंगै नीजि

सेती अञ्चल अस्पतालकै सिमानासंग जोडिएको खाद्य संस्थानको गोदाम रहेको छ । सोही गोदामलाई संस्थानले निजि अस्पताललाई भाडामा दिएको हो ।
निजी अस्पताल सञ्चालन ऐन अनुसार कुनै पनि निजी अस्पताल सरकार अस्पतालसंगै राख्न नमिल्ने व्यवस्था रहेको छ । ऐन अनुसार निजि अस्पतालहरु सरकारी अस्पतालको प्राङ्गणभन्दा पाँच सय मिटर दुरीमा हुनुपर्ने उल्लेख छ ।
कुनै पनि अस्पताल सञ्चालन गर्दा भरसक आफ्नै जग्गामा हुनुपर्ने वा भाडामा भए कम्तीमा १० वर्षसम्मको सम्झौता हुनुपर्ने व्यवस्था छ । तर, सारथी अस्पतालका प्रबन्ध निर्देशक जोशीका अनुसार ‘प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्दै सम्झौता बढाइने सहमति भएको छ । त्यस्तै, सवारी साधन पार्किङ्का लागि पनि जग्गा अभाव रहेको छ ।
सारथी अस्पतालले अनुमतिका लागि धनगढी उपमहानगरपालिकामा आवेदन पेश गरेको जनाइएको छ । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले भने– अहिले उपमहानगरपालिकामा दुई वटा अस्पताल सञ्चालनका लागि आवेदन परेको छ, तर स्पष्ट ऐन कानुन नबन्दा अनुमति दिन सकिएको छैन । उनले धनगढी उपमहानगरपालिकाभित्र रहेका नीजि अस्पतालको नविकरण, अनुगमन तथा नियमन लगायतमा समस्या भइरहेको बताए ।

सरकारलाई वेवास्ता

नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य संस्थानले स्थानीय तह र सरकारलाई नै वेवास्ता गरेको छ । धनगढीस्थित सेती अञ्चल अस्पताललाई जग्गा अभाव भएपछि खाद्य संस्थानसंग सो गोदाम माग गरिएको थियो ।
सेती अञ्चलले प्रदेश सरकार र संघीय सरकारसंग पटक–पटक सो जग्गाका लागि परिपत्र गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले बताए । ‘हामीले आफै पनि संस्थानलाई आग्रह गर्दा दिन नमिल्ने प्रतिक्रिया पाएका थियौं’ मेसु पाण्डेले भने– जग्गा अभावका कारण अस्पतालमा सेवा सुविधा विस्तार र गुणस्तर बनाउन समस्या भएको छ ।
सेती अञ्चल अस्पतालका जसरी नै धनगढी उपमहानगरपालिकाले सो जग्गा माग गरेको थियो । धनगढी उपमहानगरपालिकाले सवारी साधनका लागि सो जग्गा माग गर्दा संस्थानले दिन नमिल्ने प्रतिक्रिया दिएको धनगढी उपमहानगर प्रमुख नृपबहादुर वडले बताए ।

केन्द्रलाई छलेर भाडामा

नेपाल खाद्य संस्थानले स्थायी रुपमा कुनै पनि अस्पताल वा कार्यालयलाई गोदाम भाडामा नदिने उल्लेख गरेको छ । गोदाम प्रयोजन अर्थात औषधी भण्डारण, जुत्ता, कपडा लगायतको भण्डारण प्रयोजनका लागि सो गोदाम भाडामा दिने गरेको नेपाल खाद्य संस्थानका सूचना अधिकारी सापकोटाले बताए ।
खाद्य संस्थान सेती अञ्चल कार्यालयले केन्द्रीय कार्यालयलाई नै छलेर नीजि अस्पताललाई भाडामा दिएको देखिन्छ । संस्थानका सूचना अधिकारी सापकोटाले भने– गोदामको प्रयोजनका लागि भाडामा दिने स्विकृति दिएका हौं । अस्पताललाई दिएको बारे थाहा छैन । उनले गोदाम संस्थानलाई आवश्यक परेको समयमा छोड्ने सर्तमा भाडामा दिइने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार