१६ चैत्र २०८०, शुक्रबार

अपहरणको नाटक गर्ने सिंह पक्राउ



धनगढी । अपहरण भएको नाटक गर्ने धनगढीका एक व्यापारी प्रहरीको फण्डामा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले अपहरणको नाटक गरेका धनगढी उपमहानगरपालिका–५ का जगतबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

धनगढी बजारमा आरम्भ फेन्सी पसल संचालन गर्दै आएका सिंह सेती अस्पतालका खरिदार पदमा कार्यरत छन् । उनले आफू अपहरण परेको भन्दै भारतीय नम्बरबाट घरका सदस्यलाई फोन गरी १५ लाख रुपैयाँ फिरौटी माग गरेको बताएका थिए । परिवारका सदस्यले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा सिंहलाई भारतको पञ्जावमा भेटाएर पक्राउ गरेको हो । अनुसन्धानमा सिंहले धनगढीका स्थानीय व्यापारीसंग लिएको ऋण बापत अनादर चेक दिएको र सो चेकका कारण कारबाही हुने डरले अपहरणको नाटक गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सिनाले बताए ।
उनले भारतका पञ्जाब (लुधियाना) गई भारतीय नम्बरबाट घरमा फोन गरी आफु अपहरणमा परेको सिंहले भनेको जनाए । तिमिल्सिनाका अनुसार सिंहले अपहरण मुक्त हुन १०÷१२ लाख आवश्यक परेकोले भन्दै आफ्नो खातामा पठाई दिन भनि घर परिवारलाई फोन गरेको बयान दिएका छन् । उनलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको तिमिल्सिनाले बताए ।

सम्बन्धित समाचारः धनगढीका व्यापारी अपहरित, फिरौतीका लागि १५ लाख माग

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार