१३ बैशाख २०८१, बिहीबार

सैनिकको हत्या भएको आरोप



धनगढी । कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान वीरबहादुर खड्काको हत्या भएको उनका परिवारले आरोप लगाएका छन् ।


नेपाली सेनाले वीरबहादुरले आत्महत्या गरेको दाबी गरेको छ । मृतकका परिवारले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गरी घट्नाको प्रकृति हेर्दा उनको हत्या नै भएको आरोप लगाए ।
‘घटनास्थलको तस्बिर हेर्दा बिना पोशाक र चप्पलमा कसरी हतियार दिइयो’ मृतक वीरबहादुरकी श्रीमती हिमाली ज्योति खड्काले भनिन्– हामीलाई उनको हत्या नै भएको हो भन्ने आशंका छ । उनले ‘पोस्टमार्टम नै नगरि आत्महत्या भनिएकोमा पनि आपत्ति जनाइन् ।
श्रीमति खड्काले आत्महत्या गर्नुको कुनै कारण नभएको बताइन् । उनले भनिन्– घटनाको अघिल्लो बेलुकी उहा“ले फोनमा केही दिनमा गण नै पोखरा सर्न लागेकाले पसल बेचेर उतै जान तयारी हुनु भन्नुभएको थियो ।
गणका गणपति राजु बस्न्यातले शव प्रहरीको जिम्मा लगाई सकिएकाले उतै बुझ्न भनेर पन्छिने गरेको मृतकका बुवा धनबहादुर खड्काले बताए । उनले भने– आत्महत्या नै भए पनि परिवार नआउ“दै शव उठाउन लगाएको र आत्महत्या भएकाले कुनै सेवा सुविधा नपाउने भन्ने जवाफ दिइयो ।
वीरबहादुरको महाकाली अञ्चल अस्पतालमा पोस्टमार्टम नभएपछि शव सेती अञ्चल अस्पतालमा ल्याइएको थियो । पोस्टमार्टम भए पनि आफूहरूले शव नबुझेको मृतकका काका कमलेश खड्काले बताए ।
आफन्तहरुले घटनाको सत्यतथ्य छानबिनको माग दोहोराएका छन् । उनले सत्यतथ्य छानबिन नहु“दासम्म शव नउठाउने बताए । मृतक खड्काको घर जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १० हो । मृतकका परिवारका १३ जनाको टोली चार दिनदेखि धनगढीमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार