१२ बैशाख २०८१, बुधबार

अवैध सुन र चाँदीसहित दुई जना पक्राउ



धनगढी । कैलाली प्रहरीले अवैध रुपमा भित्राइएको दुई किलोग्राम बढी सुन र चाँदी सहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार राती विशेष सूचनाको आधारमा चिसापानी प्रहरी चेकपोष्टले लम्कीचुहा नगरपालिका वडा नम्बर ३, चिसापानीमा सुन र चाँदीसहित धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ४५ वर्षीय रमेशकुमार सैंजु र कैलारी गाउँपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीया सीता कुमारी चौधरीलाई पक्राउ गरेको हो ।चेकपोष्टमा चेकजाँच गर्ने क्रममा रमेशको बा १९ च ७४१३ नम्बरको कारबाट दुई किलो दुई सय ३२ ग्राम सुन र चाँदीका सरसामान बरमाद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले बिहीबार पत्रकार सम्मेलनमार्फत अवैध सुन र चाँदी बरामद घटनाबारे जानकारी दिएको छ । रमेश धनगढीका सुनचाँदी व्यापारी रहेको प्रहरी स्रोतले जनाएको छ ।कैलाली प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) आभूषण तिमिल्सेनाका अनुसार सीता रमेशको कारमा रहेकी थिइन् । ‘सीता रमेशको कारमा थिइन् । सोधपुछका क्रममा केही जानकारी नदिएपछि हामीले नियन्त्रणमा लिएका हौं’ प्रहरी उपरीक्षक तिमिल्सेनाले भने ।
प्रहरीले रमेशको कारबाट दुई सय ३२ ग्राम सुन १२ टुक्रा, चाँदीको बोर्डर भएको काठका फ्रेम ४३ थान, टिकादानी १२, करुवा १० थान, आचमनी ३२ थान, नगसहितका औठी १८ थान, सतपाला सात थान, पञ्चपाक ३२ थान बरामद गरेको जनाएको छ । प्रहरीले सुन, चाँदीसहित तीन थान मोबाईल फोन र कार नियन्त्रणमा राखेको छ ।
प्रहरी उपरीक्षक तिमिल्सेनाले सुन र चाँदीका गरहना र सामानहरु काठमाडौंबाट ल्याइएको बयानका क्रममा खुलेको बताए । ‘बरामद सामानमध्ये एक किलोग्राम सुनको मात्र बिल भेटिएको छ’ उनले भने– अन्य सामानको बिल पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार