१२ बैशाख २०८१, बुधबार

अदालतको फैसलालाई स्वागत गर्दै पुनरावेदन जाने (भिडियो सहित)



धनगढी । जिल्ला आदलत कैलालीले बुधबार सुनाएको टीकापुर घटनाको फैसलालाई स्वागत गर्दै थरुहट पक्षधरले पुनरावेदन जाने भएका छन् ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर चौधरी ढिलै भएपनि अदालतले मुद्दालाई किनारा लगाएकोमा स्वागत योग्य रहेको बताए । उनले एउटै प्रकृतिको मुद्दामा ११ जनालाई जन्म कैद फैसला सुनाएकोले न्यायिक पहल गर्नुका साथै राज्यलाई राजनीतिक तवरले समाधान गर्न दवाव दिने बताए ।
तीन वर्ष कैद सजाय भोगेर अदालतको फैसलापछि बुधबार रिहा भएका थरुहट नेता रामप्रसाद चौधरीले जन्मकैद सुनाइएका व्यक्तिहरुको न्यायका लागि पुनरावेदन जाने बताए । उनले अदालतले गरेको फैसला स्वागत योग्य भएपनि सबैलाई न्याय दिन नसकेको बताए । यसले गर्दा आफू जेलमुक्त भएपनि पूर्ण रुपमा खुशी नभएको बताए ।

तीन वर्ष कैद सजाय भोगेर अदालतको फैसलापछि बुधबार रिहा भएका थारु कल्याणकारिणी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरीले अदालतले गरेको फैसला स्वागत योग्य र सर्वमान्य रहेको बताए । उनले कानुनले गरेको फैसलामा चित्त नबुझेकाले पुनरावेदन जाने सोच बनाएको बताए । उनले टीकापुर घटना विशुद्ध राजनीतिक घटना भएपनि राज्य पक्षले बेवास्ता गरेको कारण कानुनी बाटो अपनाउन परेको बताए ।

यसैगरी, कैलाली र कञ्चनपुरका थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी सभाले संयुक्त संघर्ष प्रेस विज्ञप्ति जारी गरेर सांसद् रेशम चौधरी लगायत जन्मकैद सजाय सुनाइएका ११ पनि निर्दोष रहेको भन्दै थुना मुक्त गर्न राज्यले ध्यान दिनुपर्ने बताएका छन् । विज्ञप्तिमा सद्भाव कायम गर्नका लागि टीकापुर घटनालाई राजनीतिक रुपमा लिई निशर्त रुपमा बाँकीलाई पनि थुनामुक्त गर्न माग गरिएको छ । विज्ञप्तिमा २०७२ भदौ ८ का घटनाका दोषीलाई खुला छोडेकोमा आपत्ति समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार