१५ चैत्र २०८०, बिहीबार

टीकापुर घटनाको फैसला, रेशमलाल सहित ११ जनालाई जन्मकैद (भिडियो सहित)



धनगढी । बरिष्ठ प्रहरी उपरीक्षक सहित आठ जना सुरक्षाकर्मी तथा डेढ वर्षीय एक बालकको हत्या भएको टीकापुर घटनाको आज (बुधबार) फैसला भएको छ ।

कैलाली जिल्ला अदालतले गरेको फैसला अनुसार कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय भएको छ । त्यसैगरी एक नावालक सहित १३ जनालाई तीन वर्ष कैदको सजाय सुनाइएको छ भने तीन जनालाई निर्दोष करार दिएर सफाई दिइएको छ ।जिल्ला न्यायधीस परशुराम भट्टराईको एकल इजलासले गरेको फैसलामा प्रतिनिधि सभा सदस्य रेशमलालसहित राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौैंरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, गंगाराम डगौंरा चौधरी, हरिनारायण चौधरी र नावालक श्रवण चौधरीलाई जन्मकैद सजाय सुनाइएको छ ।
१० वर्षीय श्रवण नावालक भएकाले जन्मकैदको आधा अर्थात् दश वर्ष कैद सजाय हुने फैसलामा उल्लेख छ ।
जन्मकैद सजाय पाएका मध्ये रेशमलाल हाल काठमाडौंस्थित डिल्लीबजार कारागारमा थुनामा रहेका छन् भने श्रवणबाहेक नौ जना कैलाली कारागारमा थुनामा रहेका छन् । नावालक श्रवण हाल कास्कीको पोखरास्थित बाल सुधार गृहमा रहेका छन् ।

टीकापुर घटनामा प्रहरीले ५८ जनामाथि मुद्दा दायर गरेकोमा २७ जना थुनामा रहेका छन् भने ३१ जना फरार अवस्थामा छन् ।
कैलाली जिल्ला अदालतले लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौंरा, प्रेमबहाद्ु्र चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारुचौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरीलाई जनही तीन वर्षको कैद सजाय सुनाएको छ । त्यसैगरी नावालक करन चौधरीलाई छ महिना कैद सजाय सुनाइएको छ ।

तीन वर्ष कैद सजाय मध्ये चुन्नीराम चौधरीबाहेक अन्य सबै १२ जनाले कैद भुक्तान गरिसकेकाले आजै जेलमुक्त भएका छन् ।
त्यसैगरी सोही घटनामा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नुरुल अली जागा भनिने तहा“वर अली जागा, विश्राम चौधरी कुस्मी र राम नरेश चौधरीले सफाई पाएका छन् ।
२०७२ साल भदौ सात गते थरुहट/थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुरमा बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरी सुरक्षाकर्मी तथा डेढ वर्षीय बालकको नृशंस हत्या भएको थियो ।
प्रहरीले ५८ जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी सहित तीन मुद्दा दायर गरेको थियो । कैलाली जिल्ला अदालतले अभियुक्तहरुलाई डाकाचोरीमा सफाई दिए पनि कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा कसुरवार ठह¥याउदै सजाय सुनाएको छ ।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मुद्दा चलाएका मध्ये हाल फरार अवस्थामा रहेका ३१ जनाविरुद्धको मुद्दा मुल्तवीमा राखिएको कैलाली जिल्ला अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार