११ बैशाख २०८१, मंगलवार

टीकापुर घटनाको साढे तीन वर्षः आज फैसला हुँदै



धनगढी । नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित आठ जना सुरक्षाकर्मी तथा डेढ वर्षका एक बालकको हत्या भएको टीकापुर घटनाको आज (बुधबार) अन्तिम फैसला हुने भएको छ ।
कैलालीका जिल्ला न्यायधीस परशुराम भट्टराईको इजलासमा रहेको टीकापुर घटनासम्बन्धी बहस मंगलबार सकिएको र आज (बुधबार) फैसला हुने कैलाली जिल्ला अदालतले जानकारी दिएको छ ।
टीकापुर घटनाबारे अदालतमा दायर मुद्दामाथि गत बुधबारदेखि बहस शुरु भएको थियो । बहसमा बादीतर्फका न्यायधिवक्ता र प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बहस गरेका थिए । मंगलबार बादी तर्फबाट जिल्ला न्यायधिवक्ता विष्णुप्रसाद पौडेल तथा प्रतिवादीका तर्फबाट छ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
प्रतिवादी तर्फबाट कानुन व्यवसायीहरु गंगाराम पाध्याय, वीरबहादुर जेठारा, गम्भीरसिंह ऐर, गजेन्द्रबहादुर केसी, नाथुराम महतो र प्रयागराज भट्टले बहस गरेको अदालतका श्रेष्तेदार इन्द्र बहादुर कठायतले जानकारी दिए । श्रेष्तेदार कठायत भने– मंगलबार बहस सकिए पनि समय अभावका कारण फैसला हुन सकेन ।
टीकापुर घटनामा अहिलेसम्म नेपाल सरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका छन् भने प्रतिवादी तर्फबाट बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, अधिवक्ता हरिहफुयाल, मिलन राई, दिलमणी पोखरेल, इन्द्रपसाद लेखक, दयाराम चौधरीले पनि बहस गरेका थिए । टीकापुर घटनाको आठौं पेसीपछि बहस शुरु भएको थियो । मुद्दाको १२ औं पेसीमा फैसला हुन लागेको कैलाली जिल्ला अदालतले जनाएको छ ।
घटनाको सुनूवाईमा भएको ढिलाईलाई दृष्टिगत गरी जिल्ला अदालतले मुद्दामाथिको बहसलाई गत बुधबारदेखि निरन्तरता दिएको थियो । प्रतिवादीहरुको वतनको अस्पष्टता लगायत विभिन्न कारणले सो घटना ढिलाई भइरहेको थियो ।
थरुहट÷थारूवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी र एक बालक सहित नौ जनाको ज्यान गएको थियो ।
सो घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य रेशमलाल चौधरी सहित ५८ जना विरुद्ध कैलाली प्रहरीले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको थियो । प्रहरीले प्रतिनिधि सभा सदस्य रेशमलाललाई टीकापुर घटनाको मुख्य योजनाकारका रहेको आरोपमा मुद्दा दायर गरेको थियो ।
घटनाको अर्को दिन (भदौं ८ गते) थारु समुदायलाई लक्षित गरि व्यापक आगजनी, तोडफोड तथा लुटपाट भएको थियो ।
सो घटनामा संलग्न रहेको आरोपमा हाल कैलाली कारागारमा २४ जना थुनामा रहेका छन् । त्यस्तै, प्रतिनिधि सभा सदस्य रेशमलाल काठमाडौं डिल्लीबजार कारागारमा थुनामा रहेका छन् । घटनामा संलग्न अरूहरू भने फरार रहेका छन् ।
थुनुवा रहेका अधियुक्तहरूमध्ये नाबालकलाई पोखरास्थित बाल सुधार गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार