१३ बैशाख २०८१, बिहीबार

अंश लिने डरले बिवाह दर्ता गर्दैनन्ः उपप्रमुख भट्ट



धनगढी । धनगढी उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सुशिला मिश्र भट्टले बेलैमा घटना दर्ता नहुदा न्याय सम्पादनमा कठिनाई भैरहेको बताएकी छन् ।

धनगढी उपमहानगरपालिकाको न्यायीक समितिले आयोजना गरेको घटनादर्ता सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टले सबैभन्दा बढी समस्या बिबहदर्ताको रहेको बताइन् । ‘न्यायिक समितिको संयोजक भएर काम गर्दा बुहारीले अंश लिने डरले बिवाह दर्ता नगरिदिएको समेत पाइयो’, उपप्रमुख भट्टले भनिन्, ‘बिवाह दर्ता नगर्नमा परिवारका अन्य सदस्यको समेत संलग्नता देखिन्छ ।’
उपप्रमुख भट्टले बिवाह दर्ता नभएका कारण छोराछोरीहरुको जन्मदर्ता समेत हुन सकेको थुप्रै घटना रहेको बताइन् । उनले घटनादर्तालाई यसपालीको महिला दिवसमा अभियानकै रुपमा संचालन गर्नुपर्ने बताइन् । उनले सबैभन्दा बढी समस्या प्रेम बिवाह, बाल बिवाह र अन्तरजातीय विबाह गर्नेहरु समस्यामा रहेको बताइन् । न्यायिक समितिले घटनादर्ता नभएका कारण झेल्नु परेका समस्याहरुको निराकरण खोज्नका लागि कानुन ब्यावसायी र वडा अध्यक्षसंग अन्तरक्रिया गर्नु परेको उपप्रमुख भट्टले बताइन् ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले घटनादर्ताका बारेमा सर्वसाधारणलाई जानकारी गराउन वडा अध्यक्षहरुलाई निर्देशन दिए । ‘सबै नागरिकले यस बारेमा नबुझेका हुन सक्दछन्,’ नगरप्रमुख वडले भने, ‘बुझाउने काम जनप्रतिनिधीहरुको हो ।’
कानुन ब्यावसायी जुहारीलाल चौधरीले मुलुकी देवानी संहिता र घटना दर्ता ऐनबीच तालमेल नभएकाले सर्बसाधारण दुःख पाइरहेको बताए । उनले भने, ‘यो देशब्यापी समस्या भैसकेको छ ।’
कानुन ब्यावसायी प्रयागराज भट्टले सबै कुरा कानुनमा टेकेर भन्दा पनि थोरै ब्यावहारिक भएर काम गर्दा समस्याहल हुन सक्ने बताए । उनले भने, ‘वडा र स्थानीयको मुचुल्का अनुसार पनि काम गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार