१३ बैशाख २०८१, बिहीबार

विद्यालय भर्ना अभियान सुरु, एक महिनासम्म सञ्चालन हुने



धनगढी । ‘हामी सबैको इच्छा, अनिवार्य नि:शुल्क आधारभूत शिक्षा’ नाराका साथ कैलालीमा पनि शनिवारदेखि ‘बालबालिका विद्यालय भर्ना अभियान’ सुरु भएको छ । कैलालीमा २०६१ सालदेखि विद्यालय भर्ना अभियान सञ्चालन हुँदै आएको छ ।
यस वर्ष आगामी १४ गतेम्म विद्यार्थीलाई विद्यालयमा भर्ना हुनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तथा विद्यालय भर्ना हुन छुटेका बालबालिकाका लागि १५ गतेदेखि वैशाख मसान्तसम्म घरदैलो कार्यक्रम गर्ने कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले बताए । जिल्ला शिक्षा अधिकारी विष्टले अभियानका क्रममा ५ देखि १२ वर्ष उमेरसम्मका बालबालिकालाई लक्षित गरिने बताए ।
विद्यालय भर्ना अभियानका क्रममा आज (आइतबार) प्रचारमूलक पर्चा पम्पलेट, पोष्टर लगायतका सामग्री वितरण गरिने जनाइएको छ ।
जिल्ला शिक्षा अधिकारी विष्टले विद्यालय भर्ना अभियानका क्रममा भर्ना हुने विद्यार्थी तथा उनका अभिभावकलाई स्वागत गर्ने, घरदैलो कार्यक्रम गर्ने, गीत, सडक नाटक, आमा समूहको भेला लगायतका कार्यक्रम सञ्चालन गरिने बताए ।
शिक्षा विभागको २०७२ सालको तथ्याङ्कअनुसार कैलालीमा प्राथमिक तहमा एक हजार तीन सय ५५ छात्र र एक हजार ३९ छात्रा सहित दुई हजार तीन सय ९४ बालबालिका विद्यालय बाहिर रहेका छन् ।
यसै गरी, आधारभूत तहका पाँच हजार नौ सय ७८ छात्र र १३ हजार तीन सय नौ छात्रा सहित १९ हजार दुई सय ८७ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला शिक्षा अधिकारी विष्टले यस पटकको भर्ना अभियानमा शिक्षा क्षेत्रमा सरोकार राख्ने सबैको सहयोग र सहकार्यमा एक जना बालबालिका पनि विद्यालय बाहिर नरहोस् भनेर काम गर्न मातहतका निकायहरूलाई अग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार