७ बैशाख २०८१, शुक्रबार

कानुन निर्माणमा विज्ञताको अभाव: मन्त्री शाह



टीकापुर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारलाई कानुन निर्माणका लागि विज्ञताको अभाव रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आइतबार टीकापुरमा आयोजना गरेको चासो कानून निर्माणको अन्तरसम्वाद कार्यक्रममा मन्त्री शाहले संघीयताको नौलो अभ्यासमा प्रदेशमा कानुन निर्माणका लागि विज्ञताको अभाव रहेको बताएका हुन् । उनले विज्ञताको अभावमा संघ, प्रदेश र स्थानीय तहमा कानुन निर्माणमा तालमेल नमिलिरहेको बताए । उनले विज्ञताको अभावमा ‘आफै बाटो बनाउने, आफै गाडी चलाउने’ काम गरिरहनु परेको बताए ।
‘हामी आफैं गुरु, आफै चेला भएर काम गरिरहेका छौं । हामी आफैले बाटो खन्ने आफै चालक भएर गाडी चलाउनु परिरहेको छ । यस्तो बेला कमजोरी हुन सक्छ ।’ कानून मन्त्री शाहले भने, ‘पत्रकारले सरकारलाई यस्तै बेला सही बाटो देखाएर सहयोग गर्नुपर्छ । हामी कानून निर्माणका चरणमा छौं । पत्रकारको सुरक्षा, प्रेस स्वतन्त्रताका लागि हामी कटिबद्ध भएकोले कानून मिडियामैत्री, पत्रकारको हितमा हुन्छ ।’
विज्ञताको अभावको बेला पत्रकारले सरकारका लागि सारथी भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘पत्रकारले सरकारको सारथी भएर उभिनुपर्छ,’ मन्त्री शाहले भने, ‘सरकार महारथी भएर देश विकास गर्नुपर्छ ।
मन्त्री शाहले स्थानीय तहमा पनि कानून निर्माणको कार्य अघि बढिरहेको बताउंदै कतिपय कानून निर्माणमा प्रदेश र संघबीच तालमेल नमिलेको बताए । उनले संघीय सरकारले प्रहरी परिचालन लगायतका अधिकार आफ्नै मातहतमा राख्न खोजेको भन्दै दुःख व्यक्त गरे । ‘शान्ति सुरक्षाका लागि प्रहरी प्रदेशको मातहतमा हुन आवश्यक छ,’ उनले भने, ‘नत्र संघीयताको मर्म उपहास मात्र हुने छैन । संघीयता नै फेल खान्छ ।’
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डा. रणबहादुर रावलले पूर्ण प्रेस स्वतन्त्रता विना लोकतन्त्र सम्भव नभएकोले लोकतन्त्रलाई बलियो बनाउन आवश्यक रहेको बताए । ‘नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भइसकेका छन्, पत्रकारले आफ्नो मात्र नभई जनताको कुरा बोल्ने र लेख्ने भएकोले अब बन्ने कानुनमा प्रेस स्वतन्त्रताको व्याख्या गरिनुपर्छ ।’ सांसद रावलले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले प्रेस स्वतन्त्र हुनुपर्छ भन्ने महासंघको माग जारी रहेको बताउंदै प्रेसलाई स्वच्छ र मर्यादित बनाउनका लागि कानुन आवश्यक रहेकोमा जोड दिए । ‘मुलुक समृद्ध बनाउने अभियानमा रहेका बेला पत्रकारितालाई पनि कसरी समृद्ध बनाउने भन्नेमा सरकारको ध्यान जानुपर्छ ।’ महासचिव विष्टले भने, ‘पत्रकारिता समृद्धिको बाटोमा अघि बढ्न आवश्यक छ, सामाजिक संजाल संचार माध्यमको साधनका रुपमा विकास भइरहेकोले यसलाई व्यवस्थित बनाउनु राम्रो हुन्छ ।’
कार्यक्रम नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको हो । कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारी, सुदूरपश्चिमका ९ जिल्लाका पत्रकार महासंघका सभापति, बरिष्ठ पत्रकार सहभागी थिए । कार्यक्रम पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव योगेश रावलले संचालन गरेको थिए । केन्द्रीय सदस्य मिन बमले स्वागत गरेको कार्यक्रममा प्रदेश सचिव प्रकाश थापाले कार्यक्रमको उदेश्यबारे जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार