१६ चैत्र २०८०, शुक्रबार

मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार (भिडियो)



धनगढी । मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार दिने सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले घोषणा गरेको छ ।

आयोजक मन्त्रालयले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी विजेतालाई १५, उपविजेतालाई ८ र तृतीयलाई ५ लाख पुरस्कार घोषणा गरेको हो । सामाजिक विकास मन्त्री कृष्णबहादुर सुवेदीले प्रत्येक स्वर्ण पदक विजेता खेलाडीलाई मेडल र प्रमाण पत्र सहित १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको जनाए ।
संघात्मक शासन व्यवस्थापछि सुदूरपश्चिम प्रदेश सरकारले खेल मार्फत् सुदूरपश्चिमको पर्यटन विकासका लागि पहिलो पटक मुख्यमन्त्री अन्तरप्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक ल्याउने प्रदेशलाई प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिने मन्त्री सुवेदीले बताए ।

प्रतियोगितामा भलिबल, क्रिकेट र व्याडमिन्टन अन्तरगत महिला र पुरुषतर्फको खेल हुने छ भने फुटबलमा पुरुषतर्फको खेल मात्रै हुने छ । प्रतियोगितामा देशका सात वटै प्रदेशको टीम सहभागी हुने छन् । ६ सय ४४ जना खेलाडी हुने खेलमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता पनि रहने छ ।

प्रतियोगिता औपचारिक रुपमा चैत १ गते शुरु भएपनि फुटबल र क्रिकेट प्रतियोगिता भने फागुन २९ गतेदेखि नै शुरु हुने सामाजिक विकास मन्त्री सुवेदीले जनाए । उनले फुटबल र क्रिकेटमा लिग प्रतियोगिता हुने भएकाले दुई दिन पहिले नै शुरु हुने बताए । प्रतियोगिता चैत ३ गतेसम्म चल्ने छ ।
मन्त्रालयले खेलकुद प्रतियोगिता सञ्चालनका लागि १० वटा उपसमिति गठन गरी तयारी तिब्र पारेको छ । तेजेन्द्र थापाको संयोजकत्वमा फुटबल, तिलक चौधरीको संयोजकत्वमा भलिबल, धिरेन्द्र साउँदको संयोजकत्वमा क्रिकेट, लालबहादुर शाहीको संयोजकत्वमा ब्याटमिन्टन उपसमिति गठन गरिएको हो । त्यसैगरी सांस्कृतिक व्यवस्थापनमा लिला बास्कोटा, सुरक्षा तथा स्वाम्सेवक परिचानमा रोहित कुँवर, स्वास्थ्य उपचारमा डा. चेतराज जोशी, प्रचारप्रसारमा अर्जुन शाह, बाना तथा बसोबासमा पुष्पराज कुँवर र समारोह तथा अतिथि सत्कारमा दिपक सिंह संयोजक छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव ईञ्जिनियर गोगनबहादुर हमालले उपसमितिहरुले आफ्नो काम शुरु गरिसकेको बताए । उनका अनुसार मेडल, प्रमाणपत्र तथा ट्रफीको तयारी भइसकेको छ भने खेलाडी पोषाक, खेल मैदान छनौट, निर्णायक, रेफ्री सम्बन्धी प्राविधिक काम भइरहेका छन् ।

सचिव हमालले खेलकुद मार्फत् सरकारले सुदूरपश्चिमको आर्थिक विकास गर्ने लक्ष्य लिएको बताए । उनले खेलकुद प्रतियोगितामा आउने खेलाडी लगायतका सहभागीले सुदूरपश्चिमको पर्यटन विकासमा समेत सहयोग पुग्ने बताए ।
मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले आउँदो चैत १, २ र ३ गते सामाजिक विकास मन्त्रालयको आयोजनामा सम्पन्न हुने खेलकुद प्रतियोगिताको निर्देशिका पारित गरेको हो । सामाजिक विकास मन्त्रालयले यसअघि सो प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार