८ बैशाख २०८१, शनिबार

प्रहरीले शिवरात्री र होलीमा कडा सुरक्षा गर्ने (भिडियो सहित)



धनगढी । नजिएको पर्व शिवरात्री र होलीको बेला जिल्ला प्रहरी कार्यालयले कैलालीमा सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।

शनिबार समुदायसंग शिवरात्री र होलीको सुरक्षा व्यवस्थान सम्बन्धी छलफल आयोजना गरी पर्वको बेला मादक पदार्थ सेवन गरी हुलदंगा गर्नेलाई पक्राउ गरी सार्वजनिक हित विरुद्धको मुद्दा लगाउने प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्ष आभुषण तिमिल्सिनाले शिवरात्रीमा भाङ र होलीमा मदिरा सेवन गरी हुलदंगा गर्नेलाई कुनै पनि हालतमा नछोड्ने जनाए । उनले भने, ‘तपाईहरुले पनि सहयोग गर्नुपर्छ । प्रहरीले शिवरात्री र होलीमा उछृंखल गतिविधि गर्नेलाई सार्वजनिक हित विरुद्ध मुद्दा चलाएर कारबाही गर्छौ ।’
प्रहरीले यसपालीको शिवरात्रीमा भाङ लगायतका लागुपदार्थ प्रयोग गरिएको कुनै पनि खाद्य पदार्थ विक्री वितरण र प्रयोग गर्न नदिने भएको छ । शिवरात्रीका बेला शिवको प्रसाद भनि भाङ हालेको मिठाई, जुस, पकौडी लगायतका परिकार खाने चलन छ । मुलुकमा भाङ, चरेश र गाँजा प्रतिबन्धित भएकाले यसलाई यसपालीको शिवरात्रीमा पूर्णरुपमा रोक लगाइने प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए ।

पर्व मनाउने नाममा शिवरात्रीमा गाँजा, भाङको प्रयोग गरी विगतमा ठूला ठूला घटना भएकाले प्रहरीले यसपाली शिवरात्रीमा कडा सुरक्षा व्यवस्था गरेको हो । प्रहरी उपरीक्षक तिमिल्सिनाले भाङ खाएर महिलाहरुमाथि अभद्र व्यवहार गर्ने र उनीहरुको सामान तथा गहना लुट्ने गरेको पाइएकोले यसपालीको शिवरात्रीमा डबल लोड बोकेका मोटरसाइकललाई कडा चेकजाँच गर्ने जनाए । उनले होलीमा समेत महिला वा पुरुषलाई ईच्छा विपरित होली खेलाउनेलाई समेत पक्राउ गरी सार्वजनिक हित विरुद्धको मुद्दा चलाउने बताए ।
शिवरात्री र होलीमा प्रहरीले फेसबुक अनलाईनमा बस्ने र उजुरीका लागि जिल्ला प्रहरी कार्यालयको फेसबुकको इनबक्समा उजुरी गर्न सकिने व्यवस्था मिलाएको छ । प्रहरी उपरीक्षक तिमिल्सिनाले इनबक्समा जानकारी आउने वित्तिकै प्रहरी घटना स्थल पुगी पक्राउ गरी तत्काल मुद्दा दर्ता गरिने बताए । उनले शिवरात्री र होलीमा हरेक टोल नाकामा सवारी साधन कडा रुपमा चेक जाँच गर्ने बताए ।

होलीमा आयोजना गरिने सडक कार्यक्रम समत व्यवस्थित गरिने प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए । होली खेल्ने नाममा महिलामाथि यौन दुव्र्यबहार गर्ने, जरबरजस्ती महिलालाई रंग दल्ने कारणले ग्याङ फाईट जस्ता दुर्घटना निम्तिने गरेको छ । गत वर्ष होलीमा टीकापुरमा एक व्यक्तिको ज्यान गएको र कैयौं महिलामाथि यौन दुव्र्यबहार भएकाले यसपाली प्रहरीले महिलामाथि जबरजस्ती रंग दल्नेलाई पनि पक्राउ गरी सार्वजनिक हित विरुद्ध मुद्दा चलाउने प्रहरी उपरीक्षक तिमिल्सनाले बताए ।
प्रहरीले शनिबारबाटै शिवरात्रीमा भाङजन्य पदार्थ विक्री वितरण नगर्न र प्रयोग पनि नगर्न माइकिङ शुरु गरेको छ । प्रहरी उपरीक्षक तिमिल्सिनाले भाङजन्य पदार्थ विक्री वितरण नगर्नेलाई पनि पक्राउ गरी मुद्दा चलाउने बताए । उनले शिवरात्री मेला लाग्ने मन्दिर वरपर प्रहरीको कडा गस्ती रहने बताए ।

छलफलमा सहभागी जनप्रतिनिधि, स्थानीय समुदाय र युवाहरुले पनि प्रहरीलाई चाडपर्वको बेला कडा सुरक्षा व्यवस्था गर्न आग्रह गरेका थिए । उनीहरुले प्रहरीलाई शिवरात्री र होलीमा अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न साथ दिने प्रतिवद्धता जनाएका छन् ।
धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले शिवरात्री मेला लाग्ने मन्दिरका व्यवस्थापन समितिलाई बोलाई भाङका परिकार मेलामा नराख्न आग्रह गर्नुपर्ने बताए । उनले होलीमा बजार क्षेत्रमा गरिने सडक कार्यक्रम र मोटरसाईकल सवारीलाई कडाई गर्नुपर्ने बताए ।
धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष बलबहादुर ऐरले शिवरात्रीमा भाङ आफूले प्रयोग गर्ने र अरुलाई पनि प्रयोग नगर्न आग्रह गर्ने बताए । उनले होलीमा उछृंखल हुँदै गएको बताए । उनले पुरानो मान्यता अनुसार नाचगान र सभ्यताका साथ होली मनाउन प्रेरित गरिनुपर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दुर्गाप्रसाद जोशीले शिवरात्रीको बेला मात्रै नभएर भाङजन्य पदार्थ रोक्न प्रहरीले निरन्तर कडाई गर्नुपर्ने बताए । उनले हरेक कजेल नजिकको क्यान्टेनहरुमा भाङ चरेश पाउने गरेको बताउँदै प्रहरीले त्यसलाई समेत रोकथाम गर्नुपर्ने बताए ।

याे पनिः शिवरात्री र होलीमा हुलदंगा गर्नेलाई प्रहरीले नछोड्ने 

कार्यक्रममा सहभागी युवाहरुले जिल्लामा रहेका भाङलाई नै नष्ट गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले गाँजा, चरेश रोक्नुका साथै भारतबाट ल्याइने लागुपदार्थ रोक्नतिर पनि प्रहरीको ध्यान जानुपर्ने बताए । उनीहरुले शिवरात्री र होलीको बेला सुरक्षाका लागि स्थानीय युवाहरुलाई समेत जिम्मेवारी दिएर अगाडि बढेमा युवाहरुले जिम्मेवारी बोध गरी लागुपदार्थ सेवन नगर्ने र गर्न पनि नदिन प्रहरीलाई सहयोग गर्न सक्ने बताए ।
होटल व्यवसायी संघका अध्यक्ष कलम बमले चाडपर्वको बेला मदिरालाई व्यवस्थित गर्न सकिने बताए । उनले पर्वको बेला निश्चित समयमा मात्रै मदिरा विक्री वितरणको व्यवस्था गर्न सकिने बताए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले चाडपर्वको बेला नै व्यवसाय चल्ने भएकाले होली जस्ता पर्वमा मदिरा विक्री नै रोक लगाउनु भन्दा व्यवस्थित गर्नुपर्ने बताए । उनले मदिरा व्यवस्थापन गर्नुका साथै शान्ति सुरक्षालाई खलबलाउने खालका गतिविधि पनि निश्तेज पार्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार