१५ चैत्र २०८०, बिहीबार

हस्तान्तरण नहुँदै सडक भत्किन लाग्यो



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८, फूलबारी क्याम्पस जाने सडक हस्तान्रण नहुदै केही स्थानमा भत्किन लागेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा स्वीकृते सघन शहरी विकास कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकाभित्र २० वटा सडक निर्माण भइरहेका छन् । फूलबारी क्याम्पस जाने सो सडक पाँच सय ३० मिटर लामो र सात मिटर चौडाईको रहेको छ ।
स्थानीयका अनुसार सडक निर्माण गर्दा राम्ररी ध्यान नदिएका कारण केही स्थानमा चिरा पर्न थालेको छ भने केही ठाउँमा भत्किएको छ । स्थानीय राजबहादुर थापाले भने– गत २ गते एउटा ट्रक गुड्दा नाली भत्कियो । अहिले यो सडकमा हेभी सवारी साधन नचलाउन भनिएको छ ।
त्यस्तै, सो सडकको एक सय मिटरसम्म फुटपाथ नै निर्माण भएको छैन । स्थानीय प्रभास गिरीले भने– सडकको इष्टिमेटमा दुई फिट फुटपाथ, एक मिटर नाली र सात मिटर पिच हुने भन्ने उल्लेख छ । तर, जग्गा विवादका कारण करिब एक सय मिटर सडक फुटपाथ बिनानै निर्माण गरिएको छ ।
स्थानीयका अनुसार फुटपाथ निर्माणका लागि सडक निर्माणको ठेक्का पाएको कम्पनीले जग्गा माग गरेकोमा नापी टोली ल्याएर जग्गा छुट्टयाउन भनिएको थियो । तर, नापी टोली नआएपछि फुटपाथ नै नबनाएर सडक निर्माण गरिएको थियो ।
सो सडक र नालीको बीचमा अहिले घा“स उम्रिन थालेको छ । स्थानीयले प्रश्न गरे– कालोपत्रे गरिएको सडकमा यति छिट्टै कसरी घा“स पलायो ? । स्थानीयले यो सडक अहिलेसम्म हस्तान्तरण नभएको बताए । प्रभासले भने– ठेकेदार कम्पनीले एक वर्षसम्म मर्मत गर्ने आश्वासन त दिएको छ, तर सडक निर्माण भएर हस्तान्तरण भएपछि विग्रियो भने कसले मर्मत गर्छ ?
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सडक मर्मतका लागि ठेकेदार कम्पनीलाई पत्राचार गरिसकेको बताए । ‘सघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण भएका सडकहरु अहिले हस्तान्तरण भएका छैनन्’ नगर प्रमुख वडले भने– अहिले शहरी विकास कार्यालयमार्फत ती सडकको मर्मत तथा सुधारका काम भइरहेका छन् । उनले कार्यालयले ठेकेदारलाई मर्मतका लागि पत्राचार गरिसकेको बताए ।
ठेकेदार कम्पनी राजेन्द्र एडभेन्चर कम्पनीले इष्टिमेट अनुसार नै काम भइरहेको बताएको छ । निर्माण कम्पनीले बिग्रेको स्थानमा मर्मत गरिने बतायो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार