७ बैशाख २०८१, शुक्रबार

क्रसर तथा घुम्ती क्रसरको कागजात माग



धनगढी । ढुङ्गा, बालुवा, गिट्टी उत्खन्न, संकलन तथा घाटगद्दी समितिले जिल्लामा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तथा घुम्ती क्रसरको कागजात माग गरेको छ ।


गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोलस्थित अनुमतिविनै सञ्चालनमा रहेको घुम्ती क्रसरबारे समितिको बैठकले थप अन्य सञ्चालनमा रहेका क्रसरबारे चासो लिएको छ । बैठकले जिल्लाभरी सञ्चालनमा रहेका क्रसरहरुलाई पा“च दिनभित्र कागजपत्र बुझाउन निर्देशन दिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले सम्पूर्ण क्रसर उद्योगलाई अनुमती पत्र, वातावरणीय प्रभाव मूल्यांकन कागजपत्र तथा कार्य योजनाको कागजसहित पा“च दिन भित्र समितिमा बुझाउन निर्देशन दिएको हो ।
‘घरेलु तथा साना उद्योग कार्यालयमा चार वटा क्रसर उद्योगले अनुमति लिएर सञ्चालन गरेको पाइएको छ’ जिल्ला समन्वय समितिका प्रमुख थापाले भने ‘तर, जिल्लामा १२ भन्दा बढी क्रसर सञ्चालनमा रहेको देखिएको छ ।’ उनले कर्णाली नदीमा मात्र पा“च वटा क्रसर राखिएको पाइएको बताए ।
जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी योगेन्द्र ओझाले सबै क्रसरको कागजपत्र प्राप्त भएपछि अर्को बैठकबाट निर्णय गरिने बताए । ‘जिल्लामा रहेका तीन वटा उपसमितिमार्फत कुन ठाउ“मा के कति क्रसर सञ्चालनमा रहेका छन भन्ने विवरण संकलन गरिने छ र कागजात माग गरिने छ’ उनले भने ।
उनले भने ‘समितिको बैठकमा गोदावरी नगरपालिका वडा नम्बर २, महरा टोलमा सञ्चालनमा रहेको घुम्ती क्रसरका बारेमा पनि बहस भएको थियो ।’ उनका अनुसार सो घुम्ती क्रसरबारे निर्णय नभएकाले अहिलेकै अवस्थामा रहने छ । सो घुम्ती क्रसर गत आईतबारदेखि बन्द अवस्थामा रहेको छ । निर्माणाधिन मोहनापुल अत्तरिया छ लेन सडक आयोजनाको ठेक्का पाएको शर्मा अमर नागार्जुनले गत मंसिरदेखि सो स्थानमा क्रसर सञ्चालन गरिरहेको थियो । विभिन्न सञ्चारमाध्यममा ‘अवैध रुपमा घुम्ती क्रसर’ शिर्षक समाचार प्रकाशन भएपछि समितिले सो बारे चासो दिएको थियो ।
समितिले कम्पनीसंग कागजपत्र माग गरेको थियो । कम्पनीका सञ्चालक इश्वरी भट्टले आइतबार समितिलाई कागजपत्र बुझाएको थियो । आईतबार बुझाएको कागजपत्र अधुरै भएपछि पुनः थप कागजपत्र पेश गर्न समितिले पत्र पठाएको थियो । कम्पनीले समितिलाई सामुदायिक वनसंगको सम्झौतापत्र, नगरपालिकाको पत्र, छ लेन सडक आयोजनाले आवश्यक सहयोग गरिदिन भनी पठाएको पत्र लगायतका कागजपत्र बुझाएको छ ।
समितिलाई बुझाएको विवरणमा वातावरणीय प्रभाव मूल्यांकन, क्रसर सञ्चालन गर्न पाउने भन्ने लगायतका कागजपत्र भने छैन् । नगरपालिकाले कार्तिक १२ गते लेखेको पत्रमा स्काभेटर र भ्याकुलोडर प्रयोग गर्न पाउने र फागुन महिनासम्म २५ हजार घनमिटर ग्राभेलमात्र उत्खनन् गर्न पाउने उल्लेख छ । सो पत्रमा नदीको दुई मिटरसम्ममात्र र वातावरणीय प्रभाव मूल्यांकन भएको क्षेत्रमा उत्खनन गर्न पाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार